जेरुसेलम , वैशाख ८ गते । इजरायलमा प्रधानमन्त्रीको नीतिको विरोध गर्दै कोरोना भाइरस महामारीका बावजुद हजारौँ मानिसहरु सडकमा उत्रिएका छन् ।
यही आइतबार तेल अभिभस्थित रबिन स्क्वायरमा दुई हजार भन्दा धेरै युवाहरु प्रदर्शनमा उत्रिए । रोचक त, उनीहरुमध्ये अधिकांश प्रदर्शनकारीले कोरोना भाइरस विरुद्ध सामाजिक दूरी कायम राखेका थिए ।
प्रदर्शनको क्रममा केही कानुन व्यवसायी तथा अगुवाहरुले भाषण समेत गरेका थिए । प्रधानममन्त्री बेन्जामिन नेतान्याहुको पछिल्लो गतिविधिले यहाँ लोकतन्त्र नै धरापमा परेको भन्दै प्रदर्शनकारीले उनी नारावाजी गरेका छन् ।
प्रधानमन्त्री नेतान्याहुले पछिल्लो समय कानुन मिचेर महत्वपुर्ण निर्णयहरु गर्दैआएका छन् । साथै प्रधानमन्त्रीले लोकतन्त्रविरोधी विधेयक ल्याएको भन्दै त्यस विरुद्ध लोकतन्त्र बचाउन आफूहरु उत्रिएको प्रदर्शनकारीहरको भनाइ छ ।
प्रधानमन्त्री नेतान्याहु र अर्का नेता गान्त्ज मिलेर जनतालाई धोका दिएको प्रदर्शनकारीहरुको भनाइ छ । नेतान्याहुले महान्यायाधिवक्ता, प्रहरी प्रमुख लगायत कार्यकारी पदमा नियुक्त गर्न गैरकानुनी अभ्यास गरिरहेका बेला आन्दोलन उठेको हो ।
आन्दोलनको शैली भने नितान्त नौलो देखिएको छ । उनीहरु कोरोना भाइरस रोकथामका लागि आवस्यक सामाजिक दूरी कायम गरेर प्रदर्शनमा उभिएका थिए । इजरायलको इतिहासमै यस्तो किसिमको आन्दोलन सम्भवतः पहिलो पटक भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
त्यसो त, प्रहरी तथा सुरक्षाकर्मीहरु पनि प्रदर्शन स्थलमा सामाजिक दूरी कायम गरेरै खटेका थिए । गत हप्ता पनि भएको प्रदर्शनमा धरपकड भएपछि प्रदर्शनकारीहरुले अहिले नयाँ शैली अपनाएका हुन् ।