काठमाडौं, वैशाख ८ गते । सरकारको सिफारिसमा राष्ट्रपटि विद्यादेवि भण्डारीले सोमबार जारी गरेको संवैधानिक परिषद र राजनैतिक दल सम्बन्धि दुई अध्यादेशप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।
सभापति शेरबहादुर देउवाले कोरोनासँग लडिरहेको अवस्था सरकारले जारी गरेको अध्यादेशलाई इतिहासकै दुःखद घटना भनेर टिप्पणी गरेका छन्।
देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी हो।’ अध्यादेश जारीबाट सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको कांग्रेसको दाबी छ।
‘दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ। यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो, कांग्रसले भनेको छ।
सरकारले संविधानमा गरिएको राजनैतिक स्थिरताको बन्दोबस्त र संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पनालाई कुल्चेको देउवाले आरोप लगाएको छन्।
कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका अध्यादेश जारी भएको भन्दै तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन आग्रह गरेको छ।