कोरोनाको कारण : नातिको विहेमा लण्डन गएका कर्णबहादुर कहिलै नफर्कने भए

बागलुङ
उमेरले ७६ पुरा पुगेका र उनकी श्रीमती सरस्वती केसी आफ्ना छोरा मिलन र बुहारी नाति नातिनालाई भेट्ने उद्देश्यका साथ बेलायत जाने निधो गरे । विशेषत छ नाति (छोराको छोरा) को विहेमा सहभागी हुने र केही दिन उतै घुमघाम गर्ने उनिहरुको लक्ष्य थियो । त्यसका लागि गत फागुन १० गते घर छाडेर लण्डन जानका लागि यात्रा तय गरे । त्यो बेला चिन लगायतका विभिन्न देशहरुमा कोरोनाको महामारी फैलिई सकेको थियो । बागलुङ नगरपालिका–१२ अमलाचौर सरङ्गीका कर्णबहादुर र सरस्वतीको साथमा जेठी बुहारीका बाबु आमा (सम्धी, सम्धीनी) पनि सँगै जाने निधो भयो । उनिहरु चारै जना गत फागुन १४ गते काठमाडौंबाट लण्डनका लागि प्रस्थान गरे । उनिहरु फागुनको १९ गते नाति मनोजको विहेमा सहभागी भए । विहे धुमधाम सँग आफन्तहरुको जम्काभेटमा उनिहरु रमाए । दुई महिना सम्म घुमघाम गर्ने र उतै बस्ने गरी गएका उनिहरु विहे पछि केही समय घुमघाम पनि गरे ।
श्रीमान छाडेर एक्लै फर्कन विवश सरस्वती
बैशाख १४ गते अर्थात आईतबार नेपाल फर्कने गरी रिटन टिकट समेत काटेका कर्णबहादुर अब कहिलै नफर्कने भएका छन भने सँगै गएकी श्रीमती सरस्वती पनि श्रीमानलाई उतै छाडेर एक्लै फर्कन विवश हुँदै छिन ।

कारण बनेको छ हाल विश्वव्यापी महामारीको रुपमा फैलिइको कोरोना भाईरस (कोभिड–१९) । एक महिनाको पारिवारीक बसाई धेरै सुखद भएको केसी परिवारमा एक्कासी ठुलो बज्रपात नै भयो । हाल सम्म कुनै रोगको समस्या नभएका कर्णबहादुरमा गत चैत्र १७ गते (मार्च ३०)का गते एक्कासी स्वास्थ्यमा समस्या उत्पन्न भयो । उनलाई सोही दिन नै उत्तरी लण्डनमा रहेको नर्थविक पार्क अस्पतालमा भर्ना गरियो । त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको कर्णबहादुरका साईला छोरा ईन्द्रबहादुर केसीले जानकारी दिए । अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई निमोनिया देखिएको डाक्टरहरुले बताएका थिए । उनलाई चैत्र १९ (अप्रिल १) गते बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारको क्रममा चैत्र २६ गते कोरोनाका कारण मृत्यु भएको परिवारले जनाएको छ । केसीलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी पनि परिवारले पाएको उनका छोराले बताए । बाबा उहाँ एक्कासी विरामी हुनुभएछ अस्पताल लगिएछ । साईला छोरा ईन्द्रले भने, ‘बाबालाई कोरोना भएको दाजु भाउजुले थाहा पाउनुभएको रहेछ । उहाँ २६ गते विहान सम्म सामान्य बोल्नुहुन्थ्यो भन्ने कुरा आएको थियो । अस्पतालमा उहाँलाई भेटन् जाने अवस्था थिएन । पछि त यस्तो नसोचेको घट्ना घट्यो ।’ कर्णबहादुरले नेपाल रहँदा अहिले सम्म कुनै त्यस्तो दिर्घ रोगको औषधी नखाएको छोरा बताउँछन । परिवारका अनुसार कर्णबहादुरलाई विचमा भएको ट्रान्जिट वा विहेमा भएको भोजको बेलमा कोरोनाको संक्रमण भयो कि भन्ने आशंका गरेका छन । परिवारका अन्य सदस्यलाई भन कोरोनाको संक्रमण नदेखिएको पारिवारीक श्रोतले बताएको छ ।
सामाजिक व्यक्तित्व, पुर्व गाविस उपाध्यक्ष,
भारतीय सेनाको रिटार्यर पेन्सनर कर्णबहादुरका चार भाई छोरा र दुई छोरी छन । उनका जेठा छोरा लण्डन छन भने माईला छोरा नेपाल आर्मिका रिटार्यर हुन । त्यसै गरी साईला छोरा गाउँमा नै व्यापार र कृषि पेशा अंगालेका छन भने कान्छा छोरा जापान रहेका छन । परिवारमा सवैको विहेबारी भै सकेको कर्णबहादुर र उनको परिवारको जिवन सुखी र खुसीका साथ वितिरहेको थियो । अहिले जेठो छोरा बुहारी र श्रीमती लण्डनमा नै छन भने, माईलो र साईलो छोरा उनको गाउँमा रहेका छन । आर्थिक रुपमा पनि सम्पन्न परिवार रहेको कर्णबहादुर निकै सामाजिक उत्तरदायि थिए । बाबाको सपना समाजमा केही गर्छु भन्ने थियो । उनका साईला छोरा ईन्द्रबहादुर भन्छन् ‘ तर अवसोच सपना साकार हुन सकेन । उहाँले देखेका सपना साकार पार्नका लागि आफुहरु तयार रहेको छोरा बताउँछन । सामाजिक रुपान्तरणका लागि निरन्तर क्रियाशिल कर्णबहादुर बहुदल आए पछि २०४९ सालमा स्थानिय निर्वाचनमा तत्कालिन अमलाचौर गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी तत्कालिन एमालेको तर्फबाट उम्मेदवार बनेर गाविस उपाध्यक्ष बनेका थिए । उनी हाल नेकपा जेष्ठ कम्युनिष्ट मञ्चका जिल्ला सदस्य हुन । भारतीय सेनाको जागिर खाएर फर्किएका उनी जिवन भर कुलै लोभ र लाभमा फसेनन् । सामाजिक भावना भएका उनले राजनितिमा लागेपछि एउटा गाविस उपाध्यक्ष बाहेक केही बन्न सकेनन् ।
परिवार मात्र हैन सिंगो समाज नै शोकमा “”
कर्णबहादुर स्थानिय लक्ष्मीनाराण आधारभुत विदालयको शैक्षिक उन्ननयतका लागि निरन्तर क्रियाशिल रहेका थिए । विद्यालय व्यवस्थापन समितिको सल्लाहकार समेत रहेका उनी अघिल्लो पटक बेलायत जाँदा विद्यालयका लागि आर्थिक सहयोग संकलन गरेर ल्याएको विद्यालयका प्रध्यानध्यापक हरि लामिछोनेले बताए । हामीले सामाजिक क्षेत्रको एउटा ठुलो धरोहर गुमाएका छौ लामिछानेले भने, ‘शैक्षिक क्षेत्रको विकासका निम्ती उहाँको योगदान समाजले कहिलै भुल्ने छैन । राजनितिक एवं सामाजिक व्यक्तित्वलाई गुमाउँदा परिवार मात्र हैन समाज नै शोकमा रहको लामिछानेले बताए ।