काठमाडौँ, वैशाख २७ गते । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।
राष्ट्रिय प्रयोगशाला, काठमाडौँ र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १०९ पुगेको छ । उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७ र १८/१८ वर्षका पुरुष तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको विज्ञप्तिमा उल्लेख छ ।