अमेरिका, वैशाख २७ गते । अमेरिका र साउदी अरेबियाले दुई देशबिचको सहकार्य बलियो बनाउने प्रतिबद्धता दोहोर्याएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राजा सलमानबिच शुक्रबार भएको टेलिफोन वार्तामा रक्षा साझेदारी बलियो बनाउने पक्षमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । तेलको उत्पादनलाई लिएर तनाव भइरहेका बेला ट्रम्प र राजा सलमानबिच टेलिफोन वार्ता भएको हो ।
हालै खबर आएको थियो कि अमेरिकाले साउदी अरेबियामा इरानबाट हुने सक्ने जोखिमका लागि राखिएका आफ्ना दुई प्याट्रिअट एन्टी–मिसाइल ब्याट्री हटाउने तयारी गरेको छ ।
त्यहिबिचमा ट्रम्प र सलमानबिच दुई देशको रक्षा सम्बन्धी सहकार्य थप बलियो बनाउने सहमति भएको हो । गएको महिना ट्रम्पले तेलको उत्पादन कम गर्नका लागि साउदी अरेबियालाई राजी गराएका थिए ।
कोरोना भाइरसको माहामारीको सुरुमा साउदी अरेबियाले तेलको उत्पादन बढाएको थियो । जसबाट अमेरिकी कम्पनीमाथि दबाब बढेको थियो । तर महामारी बढ्दै जाँदा माग कम भएपछि उत्पादन घटाइएको छ ।
ट्रम्प र राजा सलमान तेलको विश्व बजार स्थिर हुनु पर्ने पक्षमा रहेको ह्वाइट हाउसले जनाएको छ । रक्षा साझेदारी बलियो बनाइ राख्नेबारे कुरा भएको बताए पनि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा साउदी अरेबियामा राखिएका प्याट्रिअट मिसाइलको सम्बन्धमा केही खुलाइएको छैन ।
शुक्रबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले साउदी अरेबियामा रहेका आफ्ना मिसाइल अमेरिकाले हटाउन सक्ने बताएका थिए ।
तर साउदी अरेबियामाथि रहँदै आएको समर्थन कम भएको भन्ने यसको अर्थ नरहेको पोम्पेओले स्पष्ट पारेका थिए । तेललाई लिएर उत्पन्न दबाब कम गर्नका लागि यस्तो गर्न सकिने उनले बताएका हुन् ।