भारतबाट आएकालाई क्वारेन्टाइनमा, कोरोना परीक्षणपछि मात्रै छाडिने

दाङ , जेठ ३ गते । दाङमा कोरोना भाइरसको संक्रमण देखिएपछि भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ।

लमही नगरपालिका वडा नं. ५ स्थित रातोडाँडामा रहेको क्वारेन्टाइनमा अहिले भारतबाट फर्किएका पाँच जना क्वारेन्टाइनमा रहेको लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले जानकारी दिए।

उनका अनुसार जेठ १ गते स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएका १० जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बिदाईको तयारी गरिएको छ।

अहिले क्वारेन्टाइनमा पञ्जाबबाट आएका दुई जना, लखनऊबाट आएका एक जना, चन्द्रौटाबाट आएका दुई जना व्यक्ति गरी पाँच जना छन्।

साथै क्वारेन्टाइनमा स्वाब संकलन गर्न बाँकी रहेका दुई जना व्यक्तिसमेत रहेको जनाइएको छ।

‘भारतबाट सीमा पार गरेर आएका नेपालीहरु क्वारेन्टाइनमा आउन थाल्नुभएको छ। सीमा पार गर्न वित्तिकै उहाँहरुलाई ट्रेस गरिन्छ। घरमा जान नदिएर क्वारेन्टाइनमा राखिएको छ’, उनले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि मात्रै घर पठाउछौँ। पोजेटिभ आए उपचारको लागि आइसोलेसनमा राख्छौँ।’

जिल्लामा १० हजार मानिस भारतको विभिन्न नाका हुँदै भित्रने अनुमान गरिएको छ। भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्नको लागि क्षमता बढाउन थालिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। कोरोनो परीक्षणपछि मात्रै रिपोर्टको आधारमा छाडिने जनाइएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →