काठमाडौं ,जेठ ४ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिरहेका बेला अत्यावश्यक काममा हिँडेका स्वास्थ्यकर्मीमाथि अनावश्यक खानतलासी गर्ने युवक पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले स्वास्थ्यकर्मी नारायण कार्की चढेको गाडी र उनको झोला खानतलासी गर्ने चन्द्रागिरी नगरपालिका-७ का स्थानीय युवक उत्तम कार्कीलाई आइतबार पक्राउ गरेको हो।
काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीका अनुसार आफूलाई सामाजिक अभियान्ता बताउने युवक पक्राउ परेका हुन्। ‘भिडियोमा दुर्व्यवहार गरेको देखिन्छ’, एसएसपी ज्ञवालीले भने, ‘आज पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका छौँ।’
गत शुक्रबार चन्द्रागिरी नगरपालिकमा कोरोना संक्रमित भेटिएपछि प्रहरीले चेकजाँचलाई कडाई गरिरहेकै अवस्थामा ति युवकले बागमती प्रदेश जनस्वास्थ्य प्रगोगशालाका निर्देशकसमेत रहेका नारायण कार्कीमाथि खानतलासी गर्दै दुर्व्यवहार गरेका थिए।
निर्देशक कार्कीमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरेको थियो। अत्यावश्यक कामले काठमाडौं आएको भनेर उनले बताउँदा बताउँदै ति युवकले उनको गाडी र झोलाको खानतलासी गरेका थिए।
यसरी स्वास्थ्यकर्मीमाथि खानतलासी भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतफी विरोध भएको थियो।