बागलुङ –
नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले सिमामा अलपत्र परेका नेपालीलाई तत्काल उद्दार गर्नका लागि सरकार समक्ष आग्रह गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम मोलेर भारतबाट आफ्नो देश फर्कन लागेको नेपाली दाजुभाईहरुको उद्धारका लागि सरकार र सम्बन्धित निकायले पहल थाल्नुपर्ने बताएको छ । जिल्ला समितिको सोमबार बसेको अनलाइ (भ्रजुअल) बैठकले उक्त निर्णय गरेको हो । समितिले जिल्लामा रहेका मजदुरका लागि सम्बन्धित स्थानिय तहले आवश्यक सहयोग गरी उनिहरुलाई खाना र बस्नका लागि व्यवस्थापन गर्नका लागि समेत ध्यानकर्षण गराएको जिल्ला अध्यक्ष ईश्वरठाकुर पौडेलले बताए । त्यस्तै अनौपचारिक तथा स्वरोजगार क्षेत्रका सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुरक्षित समाबेश गराउने सम्बन्धित निकायले पहल थाल्नका लागि जिल्ला समितिले आग्रह गरेको छ ।
ट्रेड युनियन काँग्रेस केन्द्रिय महिला समिति उपाध्यक्ष सकुन्तला शर्माको विशेष उपस्थितिमा गरिएको बैठकले औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने सबै प्रकारका मजदुरहरुको राज्यले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न आगामी बजेटमा सवै तहले व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी हाल नेपाल–भारत सिमा बिबादका कारण कालापानी, लिम्पियाधुरा लगायतका भुमि फिर्ता गर्नको लागि कुटनीतिक पहल मार्फत तुरुन्त कार्य प्रारम्भ गर्नको सम्बन्धित निकायमा दवाव दिने निर्णय गरेको अध्यक्ष पौडेलले बताए । बैठकले नेपाल शिक्षक संघका जिल्ला सदस्य चुडामणी सुवेदीका बुबा मणिरत्न शर्मा सुवेदीको निधनमा शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
बैठकको बिषेश समय लिएर केन्द्रिय सदस्य दुर्गादत्त आचार्य, महिला समिति उपाध्यक्ष शकुन्तला शर्मा, नेपाल शिक्षक संघका बागलुङका अध्यक्ष उमाकान्त पौडेल, युवा समिति अध्यक्ष भिमप्रसाद सापकोटा लगायतले यो जोखिमको अवस्थामा श्रमिकहरु सवै सुरक्षित भएर दैनिक काम काज गर्नका लागि स्थानिय तहले बतावरण सृजना गर्नुपर्ने बताएका थिए ।