काठमाडौँ, जेठ १६ गते । शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका
अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ।
जेठ १० गते भारतबाट नेपाल आउने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । उनको सम्पर्कमा रहेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रवक्ता देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन १६५ पुरुष र ५ महिलामा कोरोना पुष्टि भएको हो । शुक्रबार कोरोना पुष्टि हुनेमा रौतहट राजपुरका ५६ , झापा कचनाकवलका २४, कपिलवुस्तु यशोधराका २३, कपिलवस्तु गौतमबुद्ध मावि क्वारेन्टीनमा बसेका १५, बाँके डुडुवाका १०, कपिलवस्तु विजयनगरका ९, सप्तरी राजविराज, पर्सा पोखरिया, कपिलवस्तु नगरपालिका, बारा र सर्लाही कौदिनहवा मलंगवाका ४–४, झापा तयारीभिट्टाका ३, नवलपरासी सुस्तापूर्व र दाङ गढवाका दुई–दुई, र झापा भद्रपुर, पर्सा जिराभवानी, म्याग्दी मालिका, रुपन्देही सैनामैना र लतिलपुरको पाटन अस्पतालमा रहेकी सर्लाहीकी एक–एक गरेर १७० जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। यो सँगै नेपालमा १६२ पुरुष र ४४ महिला गरेर कोरोना जित्नेको संख्या २०६ पुगेको छ।
मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार दुई सय ३८ र आरडीटी विधिबाट तीन हजार आठ सय ४४ नमुना परीक्षण गरिएको छ।