बाजुरा, जेठ १८ गते । बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा रहेका एक बालकको मृत्यु भएको छ । बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालकको आइतबार बिहान
मृत्यु भएको जिल्ला अस्पताल बाजुरा प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले जानकारी दिए।
मृतक बच्चाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतक बच्चाको कोरोना रिपोर्ट आएपछि मात्र अन्त्येष्टिबारे निर्णय गरिने अस्पतालले जनाएको छ।बुढिगंगा नगरपालिका १ धुरालसैनमा माविको क्वारेन्टाइनमा रहेका बालकको स्वास्थ्यमा समस्या आएपछि जेठ १५ गते साँझ सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको थियो ।
बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएको थियो। आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएका थिए।उनीहरुलाई बुढिगंगा नगरपालिका १ को धुरालसैन माविको क्वारेन्टाइनमा राखिएका थियो ।
बच्चासँगै आइसोलेसनमा उनका आमा र बुवा समेत राखिएको छ। बालक भारतबाट आउने क्रममा बाटोमा बिरामी परेको आफन्तले जनाएका छन् । सुरुमा धुरालशैन क्वारेन्टाइनमा उपचार गरिए पनि निको नभएपछि सदरमुकामको आइसोलेसनमा रिफर गरिएको एक स्वास्थ्यकर्मीले बताए।
स्वाब संकलन गरेर तीनैजनाको पीसीआर परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ।