बाँके र बर्दियाका ४० जनामा कोरोना पुष्टि

नेपालगञ्ज ,जेठ २४ गते । भेरी अस्पताल, नेपालगञ्जले ४० जनामा कोरोना पुष्टि गरेको छ । अस्पतालले दिएको जानकारी अनुसार, कोरोना पुष्टि हुनेमा बाँकेका १२ जना र बर्दियाका २८ जना रहेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नंम्बर १, धम्बोझीकी ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

लकडाउनको अवधिमा घरमै रहेकी र आवश्यक काम पर्दामात्रै बाहिर निस्किने गरेकी महिलामा कोरोना देखिएको हो ।

उनी ज्वरो आएपछि आफै भेरी अस्पतालमा गएकी थिइन् । अस्पतालले स्वाव लिनुका साथै सामान्य उपचार गरेर घर पठाइदिएको थियो । पछि रिपोर्ट आउँदा पोजिटिभ देखिएपछि आज नै आइसोलेसन अस्पताल लगिएको छ ।

उनको घरमा आमा र छोरामात्रै छन् । केही दिनअघि बाणिज्य बैंकमा पेन्सन बुझ्न गएर आएपछि उनलाई ज्वरो आएको थियो । यो बीचमा उनी एक आयुर्वेदिक पसल र दूध लिन डेरीमा गएकी थिइन् । ती महिलाका अनुसार, बैंकबाट आएको केही समयपछि ज्वरो आएको थियो । श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसपछि उनी अस्पताल पुगेकी थिइन् । जिल्लामा अहिलेसम्म भारतबाट आएका वा उसको सम्पर्कमा भएका व्यक्तिलाई मात्रै कोरोना लागेको पाइएको थियो । ती महिलालाई भने कामविशेष बाहिर निस्किदा कोरोना सरेको पाइएको छ ।

अस्पतालले पुष्टि गरेका जिल्लाका अरु संक्रमितमा खजुराका आठ जना र बैजनाथ गाउँपालिकाका तीन जना छन् । खजुरा गाउँपालिकाको वडा नम्बर ४ का सात जना र एकजना वडा नम्बर ५ का छन् । बैजनाथ गाउँपालिकाको वडा नम्बर ६ का दुई जना र वडा नम्बर २ का एकजना रहेका छन् ।

बाँकेमा कोरोना संक्रमित २ सय ६७ जना संक्रमित पुगेका छन् । त्यसमा ४२ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

भेरीमा शनिबार पुष्टि भएका २८ जना बर्दियाका छन् । बर्दियाको ११ जना गुलरिया, ५ जना बाँसगढी, तीन जना बढैया, चार जना मधुवन र ५ जना राजापुरका छन् ।

भेरी अस्पताल, नेपालगञ्जले एक बजे संक्रमितको लिष्ट सार्वजनिक गरेको हो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →