बागलुङमा थप ११ जनामा कोरोनाको संक्रमण पुष्टी, संक्रमित संख्या ४० पुग्यो

बागलुङ
जिल्लामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मंगलबार विहानै जिल्लाको पश्चिम निसीखोलाका ३ जना र बरेङ गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
निसीखोला गाउँपालिकाका २१, २६ र २७ वर्षीय पुरुष, बरेङ गाउँपालिकाका २४, २२, १८, २४, १८, २३ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद विन्दु शर्माले जानकारी दिए । यो सँगै बागलुङमा संक्रमितको संख्या ४० पुगेको छ ।
संक्रमित हुनेहरु सबै भारतबाट आएका हुन्् । जसमा शुरुवातमा संक्रमित भएका बागलुङ नगरपालिकाका २ जना निको भएर घर फर्किएका छन् भने अन्य १७ जना र क्वारेन्टिनमा स्वास्थ्य अवस्थामा समस्या देखिएका अरु दुई युवा गरेर १९ जनाको धौलागिरी अस्पतालको आइशोलेसन कक्षमा उपचार भइरहेको छ । २४ बेडको आइसोलेसन रहेको धौलागिरी अस्पतालले नथेग्ने भएपछि धौलागिरी क्याम्पसमा प्रि–आइसोलेसन तयार गरेर बडिगाडका ९ जनालाई राखिएको छ भने ढोरपाटनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनालाई राखिएको छ ।
नयाँ संक्रमण पुष्टि भएका बरेङ गाउँपालिकाका ८ जनालाई सदरमुकाम स्थित धौलागिरी बहुमुखी क्याम्पसको प्रि आइसोलेसनमा ल्याउने र निसीखोलाका ३ जनालाई ढोरपाटनको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राख्ने गरी समन्वय भइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।
तस्बिरः संक्रमित उपचारका लागि प्रि आइसोलेसन बनाइएको धौलागिरी बहुमुखी क्याम्पस ।