नेपालद्वारा नक्सा जारी गरिनुमा चीनको कुनै भूमिका छैनः राजदूत सूद

काठमाडौँ, जेठ २९ गते । नेपालले लिपुलेक–लिम्पियाधुरासहितको नक्सा जारी गर्नुमा चीनको भूमिका नरहेको नेपालका लागि भारतका पूर्व राजदूत राकेश सूदले बताएका छन् ।

बिबिसी हिन्दीसँगको अन्तर्वार्ताको क्रममा पूर्व राजदूत सूदले नेपालले हालै नयाँ राजनीतिक नक्सा जारी गर्नु र त्यसमा लिपुलेक–कालापानी पनि समावेश हुनुमा चीनको भूमिका छ जस्तो आफूलाई नलागेको बताएका छन् ।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘चीनले लिपुलेक पासलाई भारतकै हिस्सा मान्ने गरेको छ । सोही अनुसार उसले भारतसँग व्यापारिक सम्झौता पनि गरेको छ । यसैले मलाई लाग्दैन कि नेपालले नयाँ नक्सा जारी गर्नुमा चीनको कुनै भूमिका छ ।’

परिवेश र परिस्थिति जस्तो रहे पनि भारतको तर्फबाट केही कमजोरी भएका कारण नेपालले नक्सा जारी गरेको उनले बताए ।

समयमा वार्ता हुनु पर्नेमा नभएको र भारतले कूतनीतिक वार्ताका लागि चासो नदिएको जस्तो देखिएका बेला लिपुलेक–लिम्पियाधुरामा भारतले बाटो उद्घाटन गर्दा नेपालको मनमा रहेको शंका यर्थाथमा परिणत भएकाले नक्सा जारी भएको हुन सक्ने उनले बताए ।

सूदले भनेका छन्, ‘कूटनीतिक वार्ताको प्रयास भइरहेको थियो । त्यहिबेला नेपालका लागि भारतीय राजदूत फेरिए । विदेश सचिवको पनि अवकास भयो । त्यसपछि फेरि कोरोना भाइरसको महामारी आयो । यसले गर्दा वार्ता हुन सकेन । नेपाललाई भारतले वार्ता गर्न चाहेको छैन जस्तो लागिरहेका बेला बाटो उद्घाटन भयो र यसले सो शंकालाई वास्तविकतामा परिणत गरे जस्तो भयो ।’

सूदले बिबिसी हिन्दीसँग भनेका छन्, ‘कूटनीतिक अधिकारी नै भेट भएर वार्ता गर्न सम्भव नभएको भए पनि टेलिफोन वा भिडियो कन्फ्रेन्स मार्फत वार्ता गर्नु पर्ने थियो, यसमा भारतको कमजोरी देखिएको छ ।’

सूदले अब समस्या समाधानका लागि कर्मचारी तहमा नभइ राजनीतिक स्तरमै वार्ता हुनु पर्ने बताएका छन्।

सूद २००९ देखि २०१२ सम्म नेपालका लागि भारतीय राजदूतका रुपमा कार्यरत थिए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →