नेपाल-भारतको सीमामा राखियो नेपालको नयाँ ‘चुच्चे नक्सा’

झापा, जेठ २९ गते । भारततिरबाट आउने जोकोहीले मेची पुल कट्ने बितिक्कै नेपालको नयाँ नक्सा देख्न पाउने छन्। बिहीबार बिहान पूर्वी नेपालको प्रवेशद्वार मेची पुल नजिक नेपालको नयाँ नक्सा राखिएको हो।

झापा क्षेत्र नं. १ का प्रदेशसभा सदस्यहरू गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा नेपालको नयाँ नक्सा अनावरण गरे।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगर र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले संयुक्त रुपमा नयाँ नक्साको होर्डिङ बोर्ड पूर्वी नाकामा राखिएको युवा संघ नेपालका मेचीनगर अध्यक्ष सरोज मेहराले बताए।

प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले नेपालको वास्तविक नक्सा जारी गरेर सरकारले देशको भौगोलिक अखण्डतालाई सुरक्षित राखेको बताए।

अर्का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले नेपालको नक्सामा भएको त्रुटी सरकारले सच्याएकाले नयाँ नक्साका बारेमा आम नेपाली जानकार हुनु पर्ने र नेपाल प्रवेश गर्ने जोकोहीले नेपालको भुगोलका बारेमा थाहा पाउनुपर्ने बताए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →