मोरङ,जेठ ३० गते । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक सिटी स्क्यान मेशिन खरिद गर्ने भएको छ।
प्रतिष्ठानमा रहेको स्क्यान मेशिन विगत केही वर्षदेखि विग्रिएर थन्किएको अवस्थामा नयाँ मेशिन खरिद प्रक्रिया अघि बढाएको हो।
प्रतिष्ठानका उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीले मेशिन विग्रीएर थन्किएको लामो समय भइसकेको र कामको सहजताका लागि नयाँ मेशिन उपकरण खरिद प्रक्रिया सुरु गरिएको जानकारी दिए।
आर्थिक वर्षको अन्त्यमा स्वास्थ्यम मन्त्रालयको सिफारिसमा अर्थमन्त्रालयद्धारा रकमान्तर गरिएको २० करोड रुपैया बराबरको मेशिन खरिद प्रक्रिया अघि बढाएको हो।
प्रतिष्ठानले उच्च क्षमताको २ सय ५६ स्लाईस सिटी स्क्यान मेशिन उपकरण गर्ने भएको हो।
हाल प्रतिष्ठानले उपलब्ध गराउदै आएको स्वास्थ्य सेवालाई प्रविधीमैत्री, सर्वसुलभ र नमूना अस्पताल बनाउने उद्धेश्यसहित मेशिन खरिद गर्न लागिएको प्राडा. गिरीले बताए।
यसअघि प्रतिष्ठानसंग १६ स्लाईसको मेशिन रहेको थियो । सो मेशिन बिग्रिएपछि सेवामा समस्या पर्दै आएको प्रतिष्ठानले जनाएको छ।