बागलुङ
जेठ महिनाको टंटलापुर घाम, विच सडकमा हातमा नेपालको झण्डा र सरकार विरोधी नारा लेखिएका प्लेकार्ड, कोरोनाको जोखिमलाई ख्यालमा राखी शारिरिक दुरी समेत कायम गरेर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका युवाहरुले आईतबार बागलुङ सदरमुकामको लोकतान्त्रिक चोक भरिएको थियो । लकडाउनका बीच स्वतन्त्र रुपमा निश्किएका युवाहरुले सरकारको विरोधमा प्रर्दशन गरेका थिए । नेपालको राष्ट्रियगान गाएर सुरु गरिएको प्रर्दशनमा अन्य नाराहरु भने लगाएका थिएनन् । उनिहरुले सरकार विरोधीका प्लेकार्ड बोकेका थिए भने बिच विचमा अन्य राष्ट्रिय गानहरु बजाएका थिए । यसैरी नै एक घण्टाको समय सम्म तातो सडकमा बसेका युवाहरु अन्यमा गाउँ–गाउँबाट उठ बस्ती बस्ती बाट उठ यो देशको मुहार फर्नलाई उठ भन्ने गितबाट प्रदर्शनलाई समापन गरेका थिए । उनिहरुलाई कुनै राजनिति दल, कुनै संस्थाले बोलाएर आएका हैनन् । केबल सामाजिक सञ्जाल मार्फत गरिएको आह्वानमा स्वतस्फूर्तरुपमा भेला भएका हुन । उनिहरुले दल र विद्यार्थी संगठनले भन्दा फरक शैलिले प्रदर्शन गरेका थिए । प्रर्दशनमा सहभागीले आफुहरु स्वतन्त्र ढंगले सरकारको विरोधमा उत्रिएको बताए ।
यहाँ कोही विद्यार्थीको नेता कोही युवा नेता छैन । सहभागी युवा सुमन जिसीले भने, हामी सामाजिक संजालमा स्वतन्त्र रुपमा आह्रवान गरेको जानकारी पाएका थियौं । स्वतस्फुर्त रुपमा सडकमा आएका हौं । उनले सरकारले देशमा महामारी फैलिएको समयमा पनि दैनिक भ्रष्टचार बढाउने गतिविधि मात्र गरेको हुँदा युवाहरुले सरकारलाई खबरदारी गर्न सडकमा उत्रिएको बताए । सहभागी युवाहरुले अहिलेको प्रर्दशन सरकारको दलाली प्रबृतिको विरुद्ध रहेको बताए । हाम्रो आन्दोलन प्रधानमन्त्री केपि वली सँगै हैन सहभागी अर्को युवा विशेष पराजुली भन्छन । ‘हाम्रो आन्दोलन सरकारको दलाली प्रबृति विरुद्धको हो । देश कोरोनाको संकटमा फसेको छ । सरकार भ्रष्टचारमा लिप्त भएको छ । यसको अन्त्यका निम्ती हामी स्वतस्फुर्त सडकमा आएका हौं ।’ उनिहरुले सरकारले महामारीको बेला काम भन्दा पनि भ्रष्टचार बढि गरेको हुँदा त्यसको विरोधमा उत्रिएको बताए । प्रदर्शनकारीले कोरोना नियन्त्रणमा भएको १० अर्ब खर्चको हिसाब दिनुपर्ने, आरडीटी टेष्टमा खर्च बन्द गर्नुपर्ने, सबै नागरिकको पीसीआर टेष्ट अनिवार्य गर्नुपर्ने, नेपालको सिमा नक्सामा मात्र हैन जमिन नै फिर्ता ल्याउनुपर्ने, लगायतका माग राख्दै आएका छन् । त्यसैगरी उनिहरुले बागलुङको स्थानिय भाषाको प्रयोग गरेर समेत प्लेकाडमा सरकार विरोधी नाराहरु प्रदर्शन गरेका थिए ।
खासगरी, ‘जनता भोकमरी र कोरोनाले ग्रस्त, प्रधानमन्त्री आफ्नै उखान टुक्कामा मस्त’, चिया छानेको दश अर्ब पचाउन कति जानेको, नेपाल सरकार अर्बौको भष्ट्रचार कोरोनाको उपचार लसुन,अदुवा र बेसार, नो पिसीआर बोले थुन्ने, तयारी शुन्य, बाँचुन्जेल हाहाकार लाठीचार्ज, अश्रु ग्यास, पानी, मरेपछि पिसीआर, यत्रो दिन बसाएर घर, कहाँबाट तिर्ने कर, के पाइस नेपाली केरा, गरिव जनतालाइ न पानी न खाना, यस्तो विपत्तिमा कार्पेट र जिमखाना लगायत लेखिएका प्ले–कार्ड बोकेका थिए ।
लकडाउनकै क्रममा भएको यस्तो प्रदर्शनले कोरोनाको जोखिम बढ्नसक्ने भन्दै कतिपयले चिन्ता समेत व्यक्त गर्दै आएका छन् । यद्यपी यो प्रदर्शनमा युवाहरुले ठुलो संयमयता अपनाएको देखिन्थ्यो । युवाहरुको यो प्रदर्शनका कारण मुलक भर नै एक खालको तरंग भने पैदा भएको छ । सरकार नसच्चिए आउँदा दिनहरुमा पनि निरन्तर सरकारको विरुद्ध सडकमा उत्रिने युवाहरुले चेतावनी दिएका छन ।
बागलुङमा प्रदर्शनमा उत्रिएका युवाहरु । तश्विर नारायण रिजाल ।