‘डब्लुएचओ नछोड, बलियो बनाउ’

अमेरिका, जेठ ३२ गते । अमेरिकाको प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सको एडिटोरियल बोर्डले अहिलेको समय विश्व स्वास्थ्य संगठनबाट बाहिरिने नभइ त्यसलाई थप बलियो र प्रभावकारी बनाउने बेला रहेको उल्लेख गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणा गर्दै त्यसलाई दिँदै आएको रकम स्वास्थ्यमा काम गर्ने अरु संस्थालाई प्रदान गर्ने बताएका थिए ।

कोरोना भाइरसको महामारीमा प्रभावकारी काम गर्न नसकेको र चीनको कठपुतली बनेको अभियोग लगाउँदै ट्रम्पले त्यस्तो घोषणा गरेका हुन् । तर उनकै प्रशासनले अमेरिकामा कोरोना भाइरसविरुद्ध गरेको प्रयास अति नै कमजोर भएको भन्दै तीव्र आलोचना हुने गरेको छ ।

अमेरिका डब्लुएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश हो । उसले सहयोग रोक्ने र बाहिरिने घोषणा गरेपछि कोरोना भाइरसको महामारीबाट विश्व नै संकटमा परेका बेला महामारीविरुद्धको युद्धमा डब्लुएचओलाई स्रोतको अभाव हुने देखिएको छ ।

ट्रम्पले कंग्रेसको स्वीकृति बिना अमेरिकालाई डब्लुएचओबाट बाहिर ल्याउँछन् कि के भन्ने बारे स्पष्ट भएको छैन । तर हालै ट्रम्प प्रशासनका एक उच्च अधिकारीले पोलिटिकोलाई दिएको जानकारी ट्रम्पको घोषणा नै अन्तिम भएको बताएका थिए ।

सोही परिवेशलाई मध्यनजर गरी अहिलेको बेला डब्लुएचओबाट बाहिरिने नभइ त्यसलाई थप प्रभावकारी र संगठित बनाएर लैजानु पर्ने द न्यूयोर्क टाइम्सको एडिटोरियल बोर्डले उल्लेख गरेको छ ।

कोरोना भाइरसविरुद्धको महामारीको युद्धमा डब्लुएचओ अझै पनि विश्वको आशाको केन्द्र रहेको एडिटोरियल बोर्डको लेखमा उल्लेख गरिएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →