पर्वत, जेठ ३२ गते । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएका आठ जनाको शव भेटिएको छ । शनिबार रातीको पहिरोमा पुरिएका नौं जना मध्य रातीनै तीन जनाको र आइतबार पाँच जनाको शव भेटिएको थियो ।
स्थानीय तुलबहादुर थापा र कमला बिकको घर पहिरोमा पुरिदा नौं जना वेपत्ता भएका थिए । पहिरोमा पुरिएका तुलबहादुर थापा, नीलकुमारी थापा, दीपा थापा, विविशा थापा, विवेक थापा, सम्राट थापा, कमला बिक, प्रमिसा बिकको शव भेटिएको भेटिएको र वेपत्ता भनिएका कमला विकका छोरा जेनिस बिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कुश्मा नगरपालिका वडा नं. तीन का वडा अध्यक्ष तेजप्रसाद पाध्याले शनिबार रातभर र आइतबार दिउँसोसम्म उद्धारको काम भइरहेको र वेपत्ता एक जनाको खोजी भइरहेको जानकारी दिनुभयो । रातीपनि भिषण वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताउनुभयो ।
स्थानीय सागर गिरीकाअनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको थियो । घरदेखि माथि ठुला ठूला बारी तथा समथर खरवारी रहेपनि पाहिरोले सबै बगाएको छ । ‘पहिरो नै बगाउँने जस्तो भुगोल छैन, पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूला ठूला बारी छन्, तलपनि बारी तथा समथर खरवारी छ तर ति सबै बगाएर लगेको छ ।’ गिरीले भन्नुभयो ।