प्रविधिमा आधारित सिकाइमा सहभागी हाेऔँ: प्रधानमन्त्री

काठमाडौँ, असार १ गते । नेपालका ५० लाख बालबालिका आजबाट शिक्षाको वैकल्पिक प्रविधिको प्रयोगबाट अध्ययन सुरु गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत शिक्षाको वैकल्पिक प्रविधिका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले ५० लाख बालबालिकालाई अहिलेको प्रविधिको माध्यमबाट सिकाइ प्रक्रियामा सहभागी हुन अनुरोध गर्नुभएको हो ।

उहाँले चैत्र ११ गतेदेखिको लकडाउनको कारणले विद्यालय बन्द भएको बताउनुभयो । उहाँले नेपालका तीस हजार २ सय विद्यालय क्वारेन्टाइनमा रहेको र बालबालिकाहरू उच्च जोखिममा परेकाले अब प्रविधिको माध्यमबाट सिकाइ सुरु गर्न लागेको बताउनुभयो ।

माध्यमिक शिक्षा र एसइइको परीक्षा रोकिएको उहाँले बताउनुभयो । उहाँले आम अभिभावक तथा विद्यार्थीहरूमा भाइरसको महामारी नरोकिएकाले अब प्रविधिमा आधारित शिक्षाको सुरुवात गर्न लागेको बताउनुभयो ।

उहाँले लकडाउन सकिएको नभएर केही खुकुलो मात्रै पारिएको बताउनुभयो । उहाँले सामाजिक दूरी कायम नराख्ने, मनखुसी रुपमा हिडने सबै सङ्क्रमण जोखिम बढ्ने भएकाले त्यो कार्य नगर्न सबैमा अनुरोध समेत गर्नुभयो ।

उहाँले विद्यालय र समाज भनेको सिकाइका केन्द्र भएकाले बालबालिकाहरूलाई यो समयमा धेरै कुरा सिकाउन सकिने बताउनुभएको छ । लकडाउन खुकुलो बनेसँगै अब विद्यार्थीहरूको शैक्षिक शत्रलाई खेर जान नदिनको लागि विद्यार्थीहरूको पँहुच अनुसारको शैक्षिक कार्यक्रम सुरु गरिन लागेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले अब रेडियो, टेलिभिजन, इन्टरनेट र कम्युटरको पहुँचको आधारमा प्रविधिमा आधारित शिक्षा प्रदान गर्न लागेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ]सबैको विद्यार्थीको पहुँच सबै माध्यममा छैन सोही आधारमा हाम्रो स्थानीय तहहरूको अवस्थाको आधारमा वैकल्पिक शिक्षा प्रदान गर्न लागिएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

‘अब अभिभावकहरूले समेत प्रतिकूलताको आधारमा स्वअध्ययन, रेडियो, टिभी,अनलाइन,अफलाइनमार्फत शिक्षा प्रदान गरिनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । अहिलेका विद्यार्थीहरू प्रविधिमा अभ्यस्त भइसक्नुभएकाले सोही आधारमा समेत शिक्षा दिने वातावरणको विकास भएको उहाँले भन्नुभयो । केही स्थानीय तहमा प्रविधिको विकास धेरै भएपनि केही स्थानीय तहमा कम विकास भएको कारणले अब वैकल्पिक शिक्षाको निर्देशिका जारी गर्दा स्थानीय तहको वर्गीकरण गरेर सोही अनुसार कार्यक्रम सुरु गर्ने प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले विद्यार्थीको पहुँचको आधारमा रेडियो टेलिभिजन, कम्युटरमा अफलाइन सामग्री उपलब्ध गराउने बताउनुभयो ।

उहाँले यो चुनौती मात्र नभए अवसरको रुपमा समेत विकास भएको बताउनुभयो । नयाँ प्रविधिको विकाससँगै माध्यमिक शिक्षा एसइइको विकल्पको बहससमेत सुरु भएको छ । हामीले हाम्रा पुर्खाहरूले विकास गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्दै आधा करोड विद्यार्थीले अब नयाँ प्रविधिको विकास गर्न सक्नेछन् ।

सरकारले समाजले गर्ने भनेको शिक्षाको लगानी रहेको उहाँले बताउनुभयो । उहाँले शिक्षाले समाजमा सक्षम उत्तराधिकारी बनाउने बताउनुभयो । सरकार तथा समाजले ज्ञान र सीप समाजलाई सक्षम बनाउने खालको हुनुपर्ने भन्नेमा जोड दिइएकाे उहाँले बताउनुभयाे ।

उहाँले रुचीको आधारमा आफ्नो क्षेत्रमा विशेषज्ञ बन्नुपर्ने बताउनुभयो । आम विषयमा जानकारी र आफ्नो विषयमा विशेषज्ञ हुनुपर्छ । उहाँले विद्यार्थीहरूले पछौटेपन विकास र अविकास केलाउन सक्नुपर्ने बताउनुभयो ।

उहाँले अरुले भन्नेभन्दा पनि आफ्नो क्षेत्रमा के बन्ने विषयमा स्वयम् दृढ निश्चय गरेर अघि बढ्न आवश्यक रहेको भन्नुभयो । उहाँले सबैभन्दा धेरै इमान्दार आफू बन्नुपर्ने बताउँदै मेहनतको प्रतिफल आउनुपर्ने र अनुसन्धानमा आधारित हुनुपर्ने बताउनुभयो ।

‘प्रविधिको विकासको कारणले युवाले समाजमा प्रश्न गर्न थाल्नुभएको छ । देश विदेशमा रहनुभएका युवाले मुलुक बिग्रँदै पो छ की ? भनेर प्रश्न गर्न थाल्नु भएको छ,” भन्दै उहाँले धन्यवाद दिनुभयो ।

विज्ञानको उच्चतम प्रयोग गरेर अब आउने पुस्ता इतिहासकै भाग्यमानी पुस्ताको रुपमा अघि बढाउन सरकार दृढ सङ्कल्पको साथ अघि बढाएको बताउनुभयो । उहाँले देशमा अब थप आन्दोलनको आवश्यकता नरहेको बताउँदै देश समृद्धिको बाटोमा अघि बढेको बताउनुभयो ।

जोखिमको अवस्था आँकलन गरेर वैकल्पिक शिक्षाको विकास गरेर यो शैक्षिक वर्ष खेर जान नदिने अभियानमा लागेको उहाँले बताउनुभयो

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना मन्तव्यकाे पूर्णपाठ

प्यारा विद्यार्थी भाइ बहिनीहरू,

– विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिनाअघि नै हाम्रा विद्यालयहरूमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भइसकेको हुनुपर्नेथियो । तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्य मुलुकहरूमा जस्तै हाम्रो देशमा पनि विद्यालय लगायत सबै तहका शैक्षिक संस्थाहरू बन्द छन् । गतवर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु गरिएको छ । त्यस यताका दिनमा देशभरका तीन हजार दुई सय भन्दा बढी विद्यालयहरू क्वारेन्टिन स्थलका रुपमा प्रयोग भइरहेका छन् । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) लगायत राष्ट्रियस्तरमा गरिने कतिपय परीक्षाहरू समेत स्थगित छन ।
– भाइरसको महामारी रोकिएको छैन, अझै फैलिँदो छ । लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ । तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कतासहित चालिनुपर्छ । तोकिएका सबै नियमहरू पालना गरिनुपर्छ । सामाजिक दूरी कायम नगर्ने, आवश्यक सुरक्षा सतर्कता नपनाउने र मनखुशी चल्ने गरेमा आफ्ना कारणले आफू मात्रै होइन, सिङ्गो परिवार, आफन्तहरू र समग्र समुदाय नै सङ्क्रमित हुन सक्छन् । हाम्रा स–साना नानीहरूको सिकाइको थलो नै समुदायमा सङ्क्रमण फैलने केन्द्र नबनोस् भन्नेमा विशेषगरी शिक्षक, स्वयंसेवक र अभिभावकलगायत सबै सचेत हुनैपर्छ ।
– विद्यालयहरू सिकाइका सामूहिक केन्द्र हुन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुनसक्ने भएकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको हो । बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्यसहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरूको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको छ ।
– विद्यालय तहका सबै भाइबहिनीहरूलाई म यस अवसरमा शुभकामना भन्न चाहन्छु ।
आदरणीय अभिभावकहरू,
– कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलता सँगै केही अवसर पनि सिर्जना हुँदैछ । प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको छ ।
– प्रविधि, अब हाम्रा घर/घरमा प्रवेश गर्दैछ । यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ । कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनुपर्छ ।
– यसो भनिरहँदा, मैले हाम्रो मुलुकको अवस्थालाई पनि मनमा राखेको छु । हाम्रो विकास समान स्तरमा छैन । प्रविधिको पहुँच एकै नासको पनि छैन । सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन । त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ । त्यसैको आधारमा विद्यार्थीहरूको पहिचान र वर्गीकरण गरिएको छ ।
– सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा एकीन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने,
– रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने,
– टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गराउने,
– कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्रीहरू उपलव्ध गराई पठनपाठन सञ्चालन गराउने,
– र, इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाईन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने ।
– यस महामारीको समाप्तीसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने सम्भावना बढेर गएको छ । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको छ ।
दिदीबहिनी तथा दाजुभाईहरू,
– कतिपयले आफ्ना पुर्खाको पौरख सम्झदैनन् । मैले पटक पटक भन्दै आएको छु– बाँकी दुनियाँ अन्धकारमा हुँदा, ज्ञानको ज्योति नहुँदा हाम्रा पुर्खाहरूले ज्ञान र विज्ञानको क्षेत्रमा चमत्कार गरेका थिए । हजारौँ वर्ष अघि विश्वलाई अक्षर र अङ्कको ज्ञान दिलाएका थिए । हाम्रो बौद्धिक सम्पत्तीका आविष्कारक हाम्रा पुर्खालाई हामीले सम्झनुपर्छ र सम्मान गर्नुपर्छ । हाम्रो सभ्यता र संस्कृतिलाई हरदम मनन गर्नुपर्छ ।
– वैकल्पिक सिकाइको प्रणालीमा आजबाट जोडिएका आधा करोडभन्दा माथिको सङ्ख्यामा रहेका भाइबहिनीहरूलाई म भन्न चाहन्छु, तपाईंहरू नै हाम्रो भविष्य हो । देशको कर्णधार हो । तपाईंहरूको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको समाजमाथिको लगानी हो । भविष्य माथिको लगानी हो । एउटा अभिभावकले आफ्नाे सन्तानको शिक्षामा गर्ने लगानी, समाजलाई आवश्यक सक्षम र असल उत्तराधिकारी उत्पादन गर्न गरिएको सबैभन्दा महत्वपूर्ण लगानी हो ।
– त्यसैले तपाईहरूले आर्जन गरेको ज्ञान र सीप आफूलाई सक्षम बनाउने र समाजको लागि उपयोगी हुनुपर्दछ ।
– हाम्रो शिक्षा प्रणालीले शिक्षित गर्ने विद्यार्थीहरू, दुनियाँसँग प्रतिष्पर्धा गर्ने सक्ने अब्बल हुनुपर्छ । उनीहरू आफ्नो विषयमा विशेषज्ञ र आम विषयमा जानकार हुनुपर्छ । आफ्नो समाज, देशको राजनीति र अर्थतन्त्रबारे जानकार हुनुपर्छ । हाम्रो गौरवपूर्ण सभ्यता र संस्कृतिको बारेमा जानिफकार हुनुपर्छ । अर्थात्, हाम्रो शिक्षा इतिहासकोे गौरव, वर्तमानको आवश्यकता र भविष्यको स्पष्ट मार्गचित्रको एकमुष्ट प्रतिरुप हुनुपर्दछ ।
– आफ्नो देशमा अझै पछौटेपन, अविकास र गरिबी किन र के कारणले रहिरहेको छ ? त्यसलाई केलाउने र बुझ्न सक्ने हुनुपर्छ । त्यसलाई अन्त्य गर्न आफू के हुने– प्राविधिक वा वैज्ञानिक, प्रशासक वा व्यवस्थापक, उद्यमी/व्यवसायी वा श्रमिक, कलाकर्मी वा खेलाडी … स्वयं दृढ निश्चियी हुनुपर्छ ।
– भनिन्छ, सफलताको रहस्य इमान्दारी हो । सफल हुनका लागि इमान्दार हुनैपर्छ । इमान्दार सबैप्रति हुनुपर्छ । तर सबैभन्दा पहिले आफूप्रति इमान्दार हुनुपर्छ । भविष्यमा कुन क्षेत्रमा संलग्न हुने ? जेमा लाग्ने हो, त्यसमा समर्पित हुनुपर्छ । मिहेनती हुनुपर्छ । मिहेनत, प्रतिफल आउने गरी गर्नुपर्छ ।
– हाम्रो शिक्षा अनुसन्धानमा आधारित हुनपर्छ । यो नयाँ पुस्ता इनोभेटिभ हुनुपर्छ । नयाँ प्रविधि बनाउने, भएको प्रविधिको विकास गर्ने, उपलब्ध प्रविधि आयात गर्ने र अरुमा रहेको प्रविधिको प्रसार गर्ने हुनुपर्छ । भावी पुस्ता सक्षम हुनुपर्छ । त्यो मानवीय, देशभक्त र विनम्र हुनुपर्छ । यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ ।
– झण्डै एक शताब्दीदेखि हाम्रो पुस्ता, स्वतन्त्रता र लोकतन्त्रका लागि लड्यो । नयाँ प्रणाली प्राप्तीका लागि आफ्नो जीवन समर्पित गर्यो । पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ । मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेरमा नै रहेको वा भरखरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दैछ । यो पुस्ता स्वभावतः बढी जिज्ञासु छ । र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ । अभ्यस्त भएकै कारण देश/दुनियाँका विषयमा जानकार पनि छ ।
– मैले सार्वजनिक भएका, देशभित्र वा बाहिर रहेका कतिपय जिज्ञासु युवाहरूको प्रश्न सुनेको छु । मुलुक बिग्रदै पो छ कि ? मेरा अभिभावकको भोटबाट बनेको मेरो देशको सरकार कर्तव्यबाट चुक्दै पो छ कि ? टेलिभिजन, सामाजिक सञ्जाल लगायत आम सञ्चार माध्यममा देखिने विभिन्न मुलुकहरूमा पोखिएको आक्रोस वा दिक्दारी मेरो मुलुकमा पनि दोहरिने पो हो कि ?
– आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन । तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरू यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरूको भनाइ झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन ।
– अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ ।
– अन्त्यमा, अशिक्षित जनशक्ति आजका लागि अयोग्य र अप्रभावकारी जनशक्ति हो ।
– त्यसैले अबको जनशक्ति, शिक्षित जनशक्ति हुनेछ ।
– अबको जनशक्ति, सक्षम जनशक्ति हुनेछ ।
– अबको जनशक्ति, स्वस्थ जनशक्ति हुनेछ ।
– जोखिमको अवस्था आकलन गरी यथासम्भव छिटो विद्यालयहरू पुनः सञ्चालन हुने नै छन । विद्यालयहरू पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरु भएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरूको ज्ञानमा महत्वपूर्ण योगदान गर्नेछ र शैक्षिक बर्ष खेर जान नदिन योगदान गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आवश्यक सामग्री व्यवस्थापन गरिरहेको छ । भावी दिनमा सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने क्रम निरन्तर जारी रहने छ ।
– यो विधि हाम्रा लागि नयाँ हो । तसर्थ, आफ्ना बालबालिकाहरूले यी विधिहरू प्रयोग गरेका छन वा छैनन भन्ने कुरा एकीन गर्न र उनीहरूलाई सहयोग गर्न म सबै अभिभावक, शिक्षक तथा स्वयंसेवकहरूमा अनुरोध समेत गर्दछु ।
– म सबै बालबालिकाहरूलाई यस सिकाइमा सहभागी हुन आह्वान गर्दछु ।
उज्ज्वल भविष्यको शुभकामना सहित,
धन्यवाद ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →