बायर्न म्युनिख उपाधि नजिक

म्युनिख, असार १ गते । ‘लिग लिडर’ बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको उपाधि नजिक पुगेको छ। बायर्न म्युनिखले शनिबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा

बोरुसिया मोन्चेनग्लाबाचलाई २-१ गोलले हरायो। अब बायर्न म्युनिख बुन्डेस लिगा उपाधिभन्दा केवल एक जित टाढा छ।

घरेलु मैदानमा खेल सुरु भएको २६औं मिनेटमा बायर्न म्युनिखले अग्रता लिएको थियो। बायर्न म्युनिखका लागि किशोर खेलाडी जोसुआ जर्कजीले पहिलो गोल गरे। खेलको ३७औं मिनेटमा बायर्न म्युनिखकै बेन्जामिन पभार्डबाट आत्मघाती गोल भएपछि खेल २-१ को प्रतिस्पर्धात्मक स्थितिमा पुगेको थियो।

निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि लियोन गोरेज्काले निर्णायक गोल गर्दै बायर्न म्युनिखलाई महत्वपूर्ण जित दिलाए। हालसम्म ३१ खेल खेलेको बायर्न म्युनिख ७३ अंकसहित तालिकाको पहिलो स्थानमा छ। समान खेलबाट ६६ अंक हात पारेको बोरुसिया डर्टमन्ड दोस्रो स्थानमा छ।

बोरुसिया डर्टमन्डले भने शनिबार राति खेलिएको खेलमा फोर्टुना डुसेलडर्फलाई उसैको मैदानमा १-० गोलले हराएको थियो। कोरोना भाइरसको महामारीका कारण करिब तीन महिनापछि बुन्डेस लिगा सुचारु भएलगत्तै खेलिएको खेलमा बायर्न म्युनिखले बोरुसिया डर्टमन्डलाई हराएको थियो। सोही खेलपछि नै बायर्न म्युनिखले उपाधि जित्ने सम्भावना बलियो बनेको थियो।

बुन्डेस लिगा तालिकामा ३१ खेलबाट ६२ अंक हात पारेको रसेनबल स्पोर्ट लिपजिग तेस्रो स्थानमा छ। साबिक विजेता बायर्न म्युनिखसँग पराजित भएको बोरुसिया मोन्चेनग्लाबाच भने ३१ खेलबाट ५६ अंक हात पार्दै तालिकाको चौथो स्थानमा आसीन छ।

बायर्न म्युनिखले हालसम्म २९ पटक जर्मन बुन्डेस लिगाको उपाधि जितिसकेको छ। सन् २०११÷१२ सिजनमा बोरुसिया डर्टमन्डले लगातार दोस्रो पटक बुन्डेस लिगाको उपाधि जितेयता बायर्न म्युनिखबाहेक अन्य क्लब च्याम्पियन बन्न सकेका छैनन्।

प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा रहेको बायर्न म्युनिखले अब आगामी मंगलबार वेर्डर ब्रेमेनको सामना गर्नेछ। उक्त खेलमा सफलता हात पारे बायर्न म्युनिखले उपाधि हात पार्ने पक्का हुनेछ। ‘हामी उपाधिको अत्यन्तै नजिक छौं तर, त्यसका लागि हामीले अझ एउटा खुड्किलो पार गर्नु आवश्यक छ’, खेलपछि प्रशिक्षक फ्लिकले भनेका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →