दुईजना कोरोना संक्रमित देखिँदा कडा लकडाउन घोषणा गर्ने सरकारले अहिले दैनिक चार–पाँच सय संक्रमित थपिँदा भने खुकुलो बनाएको छ ।
निजी सवारीसाधन विना रोकतोक चलेका छन् । सडकमा मानिस हिँडिरहेका छन् ।
सबै पसल, व्यवसाय सञ्चालनमा आएका छन् । सरकार अझै भन्दैछ, लकडाउन कडा पार्ने निर्णय भएको छ, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू ।
सरकारले शुक्रबारदेखि दिनभरि खुला रातभरि लकडाउनको नयाँ नियम लागू गरेको छ ।
रातिराति हिँडेका मानिसबाट कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै सरकारले यो निर्णय गरेको हुनुपर्छ ।
दिनभरि हजारौं मानिस सडकमा निस्किँदा कोरोना संक्रमण विस्तार नहुने सरकारको अनुमान हो कि भन्ने सर्वसाधारणको बुझाइ छ ।
सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म बाहिर नहिँड्न नयाँ निर्णय गरेपछि यसको आलोचना भएको छ ।
रातिराति काठमाडौं प्रवेश गर्ने मानिस बढेपछि सरकारले यस्तो निर्णय गरेको हुनसक्ने बताइएको छ ।