बागलुङ,आषाढ ६-
जिल्लामा एकै दिन थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ मात्र २९ जना र बिहान ८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलले जनाएको छ । एकै दिन ठुलो संख्यामा संक्रमण पुष्टि भएसँगै बागलुङमा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ । जसमध्ये १२ जना आइसोलेनबाट डिस्चार्ज भएर घर फर्किएका छन् । संक्रमित मध्ये बागलुङ नगरपालिकाका १३ जना, गलकोट नगरपालिकाका ८ जना, बडिगाड गाउँपालिकाका ६ जना, ढोरपाटन नगरपालिकाको १ जना र ताराखोला गाउँपालिकाको १ जना गरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
शनिबार नै विहान काठेखोला गाउँपालिकाका २३, ३३, ३६, ४९, २४ वर्षका ५ जना पुरुष र ढोरपाटन नगरपालिकाका ३० बर्षिय एक महिला सहित २४ र २२ वर्षका २ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
संक्रमितको संख्या उल्लेख्य बढे पछि अब संक्रमितलाई कहाँ राख्ने भन्ने समस्या र अन्यौलता देखिएको छ । धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको प्रिआइसोलेसन तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन भरिएका छन् । अब बैकल्पिक आइएसोलेशन बारे जिल्ला कमाण्ड पोष्टले खोजी गरेको छ । संक्रमितहरुको संख्या बढ्दै गए सँग स्थानिय तहले आईसोलेशन निर्माणका लागि सुरु गरेका छन । जिल्लाको गलकोट नगरपालिकाले नगरभित्र नै प्रि आईसोलेन बनाउन लागेको छ भने अन्य स्थानिय तहले पनि सुरु गरेका छन ।
तस्बिरः कोरोना संक्रमितको उपचार भइरहेको धौलागिरी अस्पताल ।