पोखरा, असार ८ गते । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सभाको संसदीय समितिबाट राजीनामा गरेका छन् ।
उनले अर्थ तथा विकास समिति सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन् । गुरुङले शुक्रबार राजीनामा दिएका हुन् ।
समितिमा बस्नुको औचित्य नदेखेका कारण राजीनामा दिएको गुरुङले बताएका छन् । खेलकुद, क्रसर र ठेक्कापट्टा लगायतमा व्यापक भ्रष्टाचार हुने गरेको तर आफू बसेको समितिले केही गर्ने अधिकार नभएको भन्दै राजीनामा गरेको गुरुङले अन्नपूर्णलाई बताए । ‘गण्डकी प्रदेशमा खेलकुदमा सबैभन्दा धेरै भ्रष्टाचार छ, तर सबैले देख्दैन, क्रसरहरुको त ओपनै छ नि,’ उनले भने, ‘कारबाही गर्ने अधिकार जति सिडिओ र पुलिसलाई छ, प्रदेशलाई केही छैन ।’
ठेक्कापट्टामा सरकारी कर्मचारीहरुको मिलेमतो हुने गरेको गुरुङको भनाइ छ । ‘मलाई ठेकेदारहरुले भनेका छन्, ३० प्रतिशत घटेर टेन्डर हाल्छौं, १० प्रतिशत त डिजीलाई दिनुपर्छ’, उनले भने, ‘त्यस्तो भएपछि कसले कारबाही गर्ने, मलाई पनि पैसा खायो भन्लान् भन्ने डर लाग्यो, जोगिनुपर्छ भनेर राजीनामा दिएँ ।’
मनाङको प्रदेश सभा खबाट निर्वाचित राजीव गुरुङ स्वतन्त्र उम्मेदवार थिए । उनलाई चुनावमा तत्कालीन एमालेले समर्थन गरेको थियो । सांसदमा निर्वाचित भएपछि पनि लामो समय उनले सपथ लिन पाएका थिएनन् । सर्वाेच्च अदालतमै विचाराधीन ज्यानसम्बन्धी पुरानो मुद्दाकै सिलसिलामा ७५ साल वैशाख ६ गते पक्राउ परेपछ उनलाई सपथको मौका मिलेको थिएन । सोही वर्षको पुस ६ गते रिहा भएपछि भने उनले माघ १४ गते सपथ लिएका थिए । २०७६ सालको असार १९ गते राजीव नेकपा प्रवेश गरेका थिए ।