बागलुङ- जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि जिल्ला सरमुकाममा ५० बेड क्षमताको आईसोलेशन कक्ष तयार गरिएको छ । धौलागिरी अञ्चल अस्पताल र धौलागिरी बहुमुखी क्याम्पसमा तयार पारिएको ७५ आईसोलेशनमा संक्रमतले भरिँदै गएपछि संक्रमितलाई थप व्यवस्थापन गर्नका निम्ती आईसोलेशन तयारी गरेको नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक डिल्ली प्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार बागलुङ नगरपालिका भित्र धौलागिरी अञ्चल अस्पतालमा २४, धौलागिरी बहुमुखी क्याम्पसमा ५१ र बहिरा स्कुलमा ४० गरी जम्मा १ सय १५ बेडको आईसोलेशन तयार भएका छ ।
अन्तरपालिका समन्वय अनुसार जिल्लाकै ठुलो नगरपालिका र स्वास्थ्यकर्मिको पहुँच पुग्ने भएपछि नगरपालिकामा आईसोलेशन संख्या बढाईएको आचार्यले बताए । बुधबार नगरपालिकाका स्वास्थ्यकर्मि, डिल्ली आचार्य, सुशिल पौडेल, लक्ष्मण ढकाल लगायतको सक्रियतामा आईशोलन कक्ष तयार पारिएको हो ।
अहिले सो आईसोलेशनमा बरेङ गाउँपालिकामा बुधबार पुष्टी भएका ८ जना लाई राखिएको छ भने, धौलागिरी अञ्चल अस्पताल १९ र क्याम्पसमा ४६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लामा हाल सम्म कुल १ सय ८६ बेडको आईसोलेशन तयार पारिएको छ भने १ सय १६ जना संक्रमितहरु आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १९ जना, गलकोटमा १५ जना निसीभुजी जनता क्याम्पसमा ९ जना रहेका छन । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ । जिल्लामा हाल सम्म १ हजार ३ सय ६८ जना क्वारेन्टाईमा रहेका छन ।