कोरोनाबाट मृत्यु भए भिमनाथ स्मृति प्रतिष्ठानले ५० हजार सघाउने

बागलुङ—भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठान बागलुङले जिल्ला भित्र कारोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सह—अध्यक्ष एवं प्रतिष्ठानका संरक्षक दक्ष पौडेलले आफ्नो बाबुको स्मृतिमा सहयोग गर्ने जनाएका छन् ।
पौडेलले शुक्रबार प्रेस नोट जारी गर्दै उनले गृह जिल्ला बागलुङमा स्थायी बसोबास गर्ने नागरिकको कोभिड–१९ का कारण मृत्यु भएमा प्रतिष्ठानले बनाएको कार्यविधि अनुसार मृतकका परिवारलाई राहात स्वरुप मानवीय सेवाको भावले प्रति परिवार ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिष्ठानले यस्तो अवस्था आउन नदिनका लागि संक्रमितको उपचारमा सवै पक्ष गम्भिर बन्नुपर्ने बताएको छ । जिल्लामा कोही कसैलाई पनि कोरोनाका कारण मृत्युवरण गर्नुनपरोस संरक्षक पौडेलले भने, यदी दुःख आईलागेमा हामी साथमा छौं । जिल्लाका सबै आईसोलेशनमा उपचाररत सवैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।’
पौडेलले यसअघि प्रतिष्ठानमार्फत बागलुङ जिल्लाका बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकामा स्वास्थ्य सामग्री, थर्मल गन, मास्क, सेनिटाइजर, सिटामोल, भिटामिन लगायतका सामग्री तथा औषधि वितरण गरेर गरेका थिए । कोरोनाको बारेमा आम नागरिकलाई सुसुचित गर्न अग्रपंक्तिमा रहेर रिर्पोटिङ गर्ने बागलुङका पत्रकारको कोरोना बिमा गर्न समेत सघाएका थिए ।
महामारीको सामना गरेर अघि बढ्न राज्यका निकायको भूमिकामात्र प्रयाप्त नहुने भन्दै आम नागरिकलगायत अन्य संघसंस्थाले पनि कोरोना सर्न नदिन सामाजिक दुरी कायम गर्न चेतना अभिवृद्धि, क्वारेन्टाइनमा रहेकाको खानपान, संक्रमितको उपचार तथा मृत्यु संस्कारमा पनि सघाएर मानवीय भावना देखाउनु पर्ने पोडेलले प्रकाशित प्रेस नोटमा उल्लेख छ । बागलुङको अमलाचौरमा जन्मिएका पौडलले प्रभु ग्रुपका संचालक समेत हुन ।