बागलुङ-
मौसम परिवर्तन र दैनिक जसो वर्षा भए सँगै डेंगू संक्रमण बढने जोखिमलाई मध्यनजर गरी यसको नियन्त्रणका लागि सरोकारवाला सँग छलफल गरिएको छ । जिल्लामा अघिल्लो वर्षमा डेंगूका विरामी देखिए सँगै यस वर्ष पनि पहिलै सजकता अपनाउनका निम्ती छलफल तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना र बागलुङ नगरपालिकाको समन्वयमा शुक्रबार महिला स्वास्थ्य स्वयं सेविका र सरोकारवाला विच अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।
डेंगुरोग भएका व्यक्तिलाई एडिस एजेप्टाई र एब्लो पिक्टस जातको पोथी लामखुट्टेले टोकेको खण्डमा पुन अर्को व्यक्तिलाई संक्रमण हुने हुँदा यसको निन्त्रणका लागि सबै भन्दा पहिलो अभियान भनेको घर आगनमा पानी जम्न नदिनु र सफा राख्नु नै भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । डेंगु फैलिन नदिनका लागि विशेष गरी खाल्डाखुल्डी र टायर प्लाष्टिकका भाडाँमा पानी जम्ने र लामखुट्टेले उक्त स्थानमा फुल पार्ने हुँदा लामखुट्टेको नष्ट गर्नका लागि हरेक पानि जम्ने स्थानलाई सफा राख्ने र पानी जम्न नदिनु नै सबै भन्दा राम्रो उपाय भएकोे गुरौले बताए ।
जिल्लामा केही दिन पहिले जैमिनी नगरपालिका–८ का एक व्यक्तिलाई डेंगुको संक्रमण देखिएको थियो । जिल्लामा अघिल्लो वर्ष ३८ जनामा डेगु देखिएको स्वास्थ्य कार्यालय बागलुङका भेक्टरकन्ट्रोल सुपरभाईजर यम बरालले बताए । कार्यालयले यसको नियन्त्रणका लागि जिल्लाका सबै स्थानिय तहले लामखुट्टेको खोजौ र नष्ट गरौ अभियान संचालन गर्न बताएको छ । कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले हाम्रो समाजमा कोरोना सँगै डेंगुको पनि जोखिम भएका हुँदा यसबाट बच्नका लागि आम नागरिक नै सचेत बन्नुपर्ने बताए । उनले नगरपालिकाले बजार क्षेत्रमा संचालन भएका विभिन्न टायर तथा रिसोलिङ सेन्टर लगायतका अन्य पानी जम्ने स्थानका लागि नगर स्वास्थ्य शाखाबाट अभियान नै संचालन गरेर नियन्त्रणका लागि जुटेने बताए ।
कार्यक्रममा सहभागी बिरबहादुर किसानले स्वच्छ समाज निर्माणका निम्ती समाजमा नै बसेका नागरिकको महत्वपुर्ण भुमिका हुने हुँद घर आगन सफा गरे यसको नियन्त्रणमा सफल हुने बताए ।
एडिस,एब्लो पिक्टस जातको पोथी लामखुट्टेले टोकेको तीन देखि १४ दिनमा डेंगूको लक्षण देखिन्छ । लामखुट्टेले टोकेको मानिसलाई दुई दिनसम्म सामान्य टाउको दुख्ने गर्छ । दुई÷तीन दिनपछि लगातार ज्वरो आउँछ, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै आँखाको पछाडिपट्टीको भाग दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने लक्षण पनि देखिन्छ । यस्ता लक्षण देखा पर्ने बित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिन्छन् । जिल्लामा डेगुंका शंकास्पद विरामीको धौलागिरी अञ्चल अस्पतालमा नै उपचार हुने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रम कार्यालयका प्रमुख सुरज गुरौको अध्यक्षता र यम बरालको संचालनमा सम्पन्न भएको थियो ।