जोखिम बढेको भन्दै सुर्खेतमा आजदेखि पुनः कडाइ गरिने, अन्त कहाँ हुँदैछ पुनः लकडाउन ?

काठमाडौं । बन्दाबन्दी खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा आजदेखि पुनः कडाइ गरिने भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई पुनः कडाइ गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल बढेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल व्यवसाय खोल्न पाइने, अटो रिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनमा रोक लगाउने, जोरबिजोर प्रणालीअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेलगायतका निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैङ्कका कर्मचारी, क्वारेन्टिनमा खटिएका व्यक्ति र समुदायका व्यक्तिहरूमा सङ्क्रमण फैलिएकाले लकडाउनमा कडाइ गर्नुपरेको बताउनुभयो ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दीको आदेश जारी गरेको थियो ।

लामो समय बन्दाबन्दी हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लङ्घन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो ।

उपत्यकासहित देशका अन्य स्थानमा पनि संक्रमितको संख्याअनुसार पुनः लकडाउन वा सिल गर्दै जाने नीति सरकारले लिएको जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

जनचेतनाको लागी शेयर गरौ !

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →