तमानखोला गाउँपालिकाकाे बजेट २७ कराेड ४२ लाख

बागलुङ-

जिल्लाकाे पश्चिम तमानखोला गाउँपालिकाद्धारा आइतबार आठौँ गाउँ सभा मार्फत नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्ततु गरेको छ ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा २७ करोड ४२ लाख, २८ हजार ६० रुपैयाँको बजेट प्रस्तुतसँगै पालिकालाई समृद्ध बनाउने उद्देश्य सहित विभिन्न नीति एवम कार्यक्रम प्रस्तुत गरिएको छ ।

पालिकाले लिएको नीति कार्यक्रम एवम बजेटलाई जनप्रतिनिधिको भेलाले सर्वसहमत रुपमा पारित गरेको जनाइएको छ । गत असार १० गते सञ्चालन गर्ने तयारी रहेको नीति तथा कार्यक्रम नेकपा निकट जनप्रतिनिधिले विभिन्न माग राख्दै बहिस्कार गरेसँगै दोश्रो पटक भने सर्वसहमत रुपमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

नीति तथा कार्यक्रममा स्थानीय मदिरा ऐन २०७७, विनीयोजन ऐन २०७७, नीति तथा बजेट कार्यक्रमसँगै गाउँपालिका प्रकोप व्यवस्थापन कोषको आय व्याय, गत बर्षको खर्च अनुमोदन सँगै विभिन्न विकास योजना अगाडी बढाउने गरी बजेट विनीयोजन गरीएको छ ।

शिक्षा, स्वास्थय, पुर्वाधार विकाससँगै कृषि, पशुपालन लगाएतका क्षेत्रलाई यसबर्षको बजेटमा प्राथमिकता दिएको पालिकाले गाउँपालिका भवन निर्माणसँगै वडा नम्बर ४ र ५ को वडा कार्यालय भवन निर्माण गर्ने समेत बजेट ल्याएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।