बागलुङ–
वैदेशिक रोजगारीमा जाँदा आईपर्ने समस्या समाधानका लागि बागलुङमा संचालन गरिएकाे सुरक्षित आप्रवासन ‘सामी’ परियोजना सारथी बनेकाे छ । स्वीस सरकार नेपाल सरकारको साझेदारीमा स्थानिय गैर सरकारी संस्था बिवाईसी बागलुङ मार्फत संचालन भएकाे यो परियोजना अहिले खाडि मुलुकमा रहेका नेपालीकाे समस्या समाधानकाे सारथी भएकाे छ । नेपालका ३९ जिल्लाका १५६ स्थानीय तहमा सञ्चालित उक्त परियोजना मार्फत वैदेशिक रोजागारी जानेहरुलाई त्यहाँ जाँदा आईपर्ने समस्याहरुबारे परापर्शसंगै आफु सुरक्षित रहन र दलालबाट नठगिनका लागि अपाउनुपर्ने उपायबारे पनि जानकारी गराउने गरिएको छ ।
परियोजनाले विदेश जानेहरुलाई सिपमूलक तालिम प्रदान गर्नुका साथै विदेशमा अलपत्र परेकाहरुलाई उद्धार समेत गर्ने गरेको छ । सामी परियोजनाले वैदेशिक रोजगारीका कारण उत्पन्न सबैखालका समस्या समाधानका लागि काम गर्ने सामी परियोजनाका बागलुङ संयोजक मिनप्रसाद उपाध्यायले बताए । ‘वैदेशिक रोजगारीका कारण उत्पन्न हुने समस्या समाधान र कसरी वैदेशिक रोजगारीमा जाँदा सुरक्षित हुन सकिन्छ भन्ने सन्दर्भमा हामीले काम गर्छौं,’ उनले भने,‘सकेसम्म नेपालमै बसेर केही काम गरौं विदेश जानै पर्ने अवस्थामा पनि काम सिकेर आफु सुरक्षित भएर विदेश जाऔं भन्ने योजना परियोजनाको मुख्य उद्देश्य हो ।’
यो योजना बागलुङमा आगामी २०७९ साल सम्म सञ्चालन हुनेछ । नेपालमा रोजगारीको अबसर नहुँदा विदेश पलायन हुन बाध्य नेपालीहरु राहदानी बनाउँदा देखि ने पाईला पाईलामा ठगिने गरेकाले आफुहरुले परापर्श सेवा दिएर सुरक्षित आप्रवासनका लागि सहयोग गर्ने उनको भनाई छ । ‘वैदेशिक रोजगारीमा जाँदा गलत सम्झौता पत्र दिने, एउटा काममा लगाउँछु भनेर अर्कोमा लगाउने, तोकिएको तलब नदिने समस्याहरु हुन्छन्,’ उनी भन्छन्,‘त्यसका लागि के ग¥यो भने आफु बढि भन्दा बढि सुरक्षित भईन्छ भन्नेमा विदेश जानेहरुलाई परामर्श सेवा दिन्छौं ।’ यो परियोजना बागलुङका चार स्थानीय तहमा सञ्चालित छन् । बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र जैमिनी नगरपालिकामा सामी कार्यक्रम सञ्चालन भैरहेको छ ।
विवाईसीले बागलुङमा सञ्चालन गरेको परियोजनाबारे सोमबार बागलुङमा पत्रकार अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रममा सामी परियोजना संयोजक उपाध्यायले वैदेशिक रोजगारमा जान चाहने व्यक्ति तथा तिनका परिवारहरुका लागि आवश्यक सूचनाहरू उपलव्ध गराउने, वैदेशिक रोजगारमा सीप तालिम लिएर जान अभिप्रेरित गर्ने । साथै निःशुल्क सीप तालिमका लागि सिफारिस गर्ने कार्य सामीले गरिरहेको बताए । वैदेशिक रोजगारमा जादा लेखबद्ध भएर जान अभिप्रेरित गर्ने र यसका प्रकृयाहरूबारे जानकारी गराउने, बीमा गराउँदा, स्वास्थ्य परीक्षण गराउदा, करारनामामा हस्ताक्षर गर्दा र वैदेशिक रोजगार व्यवसायी कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू जानकारी गराउने, नेपाल तथा गन्तव्य मुलुक स्थित सरकारी तथा गैरसरकारी सहयोगी निकायहरूको जानकारी तथा सम्पर्क नम्बरहरू उपलब्ध गराउने परियोजनाको कार्य भएको उनको भनाई छ ।
गत मंसिरबाट बागलुङमा यो परियोजना सुरु भए यता अहिलेसम्म ८५० जनालाई परामर्श दिईएको छ । लक डाउनको अवधीमा वैदेशिक रोजगारीमा गएकाहरुको परिवारमा पर्न सक्ने मानसिक समस्यालाई बढ्न नदिन ५०१ जनालाई टेलिफोन मार्फत मनोपरामर्श सेवा समेत प्रदान गरिएको उपाध्यायले बताए । परयोजना अन्तर्गत नै अहिले विदेशबाट फर्केर क्वारेनटाईनमा रहेकाहरुका लागि मनोपरामर्श सेवा सञ्चालन भएको छ । परियोजना बागलुङका चार स्थानीय तहमा सञ्चालन भैरहेको भए पनि जिल्लाभर अन्य जिल्ला बाहिरबाट आउनेहरुलाई पनि आफुहरुले सेवा दिने उनको भनाई छ । ‘हामी एउटा भूगोलभित्र सिमित छैनौं, परियोजना सिमित क्षेत्रमा छ तर सेवा हामीले सबैलाई दिन्छौं,’ उनले भने ।
विशेषगरी खाँडी मुलुकमा जाने युवाहरुलाई लक्षित गरी यो परियोजना सञ्चालनमा आएको सामी परियोजनाका नविन शिशिर विकले बताए । ‘हामीले केशहरु अन्य मुलुकहरुको पनि हेर्छौ, तर विशेषगरी खाँडी मुलुक जहाँ मानव अधिकारको अवस्था कमजोर छ र धेरै नेपाली आप्रवासीहरुले दुःख पाउने गरेका छन् । ती ठाउँहरु जानेहरुका लागि केन्द्रीत गरेर यो कार्यक्रम सञ्चालन भएको हो,’ उनले भने । वैदेशिक रोजगारीमा जाँदा ठगिएकाहरुका लागि कानुनी सेवा, विदेशमा अलपत्र परेका, हराएकाहरुको उद्धार, सम्झौता अनुसार तलब नपाएकाहरुका लागि परियोजनाले विभीन्न सरकारी र गैरसरकारी तथा सामाजिक क्षेत्रसंग समन्वय गरेर सेवा दिने उनको भनाई छ । पछिल्लो समय कोरोना महामारीका कारण लकडाउनले रोजगारी गुमाएर फर्केका र विदेशमै विभीन्न घटनामा परेकाहरुको खोजी र उद्दारमा समेत परियोजनाले काम गरेको छ ।
यो अवधीमा जिल्ला प्रशासन कार्यालय बागलुङमा रहेको सुरक्षित आप्रवासन श्रोत केन्द्रबाट विदेशमा रहँदा अलपत्र रहेका १७ जनालाई नेपाली दुताबास तथा विभीन्न निकायसंग मिलेर उद्धार गरिएको छ । ती मध्ये ७ जनाको कानुनी उपचारमा पनि सामीले सघाईरहेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले विदेश जानको लागि मात्र नभई अब फर्कनेका लागि पनि सामी परियोजनाले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । ‘कोरोना समस्याका कारण विदेशबाट अहिले फर्कनेहरुको संख्या ठूलो छ,’ उनले भने,‘समस्या अब नेपालमै पनि बढ्ने अवस्था देखिएको छ । विदेशबाट फर्कनेहरुको सही व्यवस्थापनका लागि कार्यक्रमले सघाउन सक्यो भने राम्रो हुनेछ ।’
कार्यक्रम भीमापोखरा युवा क्लब विवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता सचिव दीपक गौतमको स्वागत र नविन शिशिर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।