काँग्रेस बागलुङका भातृ एवं शुभेच्छुक संस्थाद्धारा क्वारेन्टाईन व्यवस्थापनमा सहयोग

बागलुङ- 
काँग्रेस बागलुङका भातृ एवं शुभेच्छुक संस्थाहरुले स्थानिय तहले संचालन गरेका क्वारेन्टाईन व्यवस्थापनका निम्ती आर्थिक सहयोग गरेका छन । जिल्लामा भारत लगायत तेस्रो मुलुकबाट आएर नागरिकहरुको क्वारेन्टाईनमा बस्नेको संख्या बढ्दो रहेको र उक्त क्वारेन्टाईन व्यवस्थापनका निम्ती स्थानिय तहलाई पनि कठिनाई परेको हुँदा यसमा केही सहज होस भन्ने उद्देश्यले काँग्रेस आवद्ध संस्थाहरुले सहयोग गरेका हुन ।
संकटको समयमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै जिल्लामा क्रियाशिल विभिन्न १५ वटा भातृ एवं शुभेच्छुक संस्थाले संयुक्त रुपमा सहयोग गरेका हुन । नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्माको संयोजनमा सम्पुर्ण संस्थाहरुबाट रकम संकलन गरी  दश वटै स्थानिय तहलाई १ लाख ७९ हजार ३५ रुपैयाँ सहयोग अभियानका संयोजक शर्माले बताईन ।

सहयोगका लागि नेपाल भुपू सैनिक संघ बागलुङको तर्फबाट ५० हजार ३५ रुपैयाँ, नेपाल महिला संघको तर्फबाट २५ हजार रुपैयाँ, नेपाल तरुण दल बागलुङबाट २५ हजार रुपैयाँ र नेपाल शिक्षक संघबाट २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी राष्ट्रिय मगर संघको १० हजार, नेपाल दलित संघको ७ हजार रुपैयाँ, नेपाल ट्रेड युनियन काँग्रेस बागलुङको ५ हजार निजामती कर्मचारी युनियन संघको ५ हजार रुपैयाँ नेविसंघको ५ हजार, डिएलएको ५ हजार रुपैयाँ, नेपाल किसान संघको ५ हजार नेपाल प्रजातान्त्रिक प्रध्यापक संघको ५ हजार, प्रजातन्त्र सेनानी संघको ३ हजार रुपैया नेपाल प्रेस युनियन बागलुङ २ हजार र जिपि कोईराला फाउण्डेशनको २ हजार रुपैयाँ गरी कुल १ लाख ७९ हजार संकलन भएको संयोजक शर्माले बताईन । उक्त रकम सवै स्थानिय तहलाई हस्तान्तरण गरिने बताईएको छ ।
सहयोग अभियान अन्तरगत मंगलबार एक कार्यक्रमको आयोजना गरी बागलुङ नगरपालिकालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेका छन । क्वारेन्टाईनमा रहेका नागरिकको खाना, बसाई तथा अन्य व्यवस्थापनमा केही सहयोग पुगोस भन्ने चाहना अनुरुप नगदै सहयोग गरिएको संयोजक शर्माले बताईन । उनिहरुले संकटको सामनाका लागि हरेक स्थानिय तहमा काँग्रेसजनहरु साथमा रहेको बताए । यो समयमा स्थानिय तहले आफ्ना गतिविधिलाई पारदर्शितामा ध्यान दिन समेत आग्रह गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले विपदको समयमा यो वा त्यो नभनी काँग्रेस सधै सहयोग गर्न तयार रहेको बताए । उनले भातृ एवं सुवेक्षुक संस्थाको काम प्रति निकै प्रशंसा गरे । थापाले कोरोना जोखिम न्युनिकरणका निम्ती हरेक स्थानिय तहलाई काँग्रेसको सधै साथ रहेको बताए । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेलले सुस्त गतिमा भैरहेको कोरोनाको जाँच बढाउन दवाव आवश्यक रहेको बताए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सरकार विभिन्न संघ संस्था र सर्वसाधारणको संयुक्त प्रयासले मात्रै संकटको सामना गर्न सकिने भन्दै सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले विभिन्न संघ संस्था र व्यक्तिगत सहयोगमा नगरपालिकाले स्थापना गरेको विपद, राहत उद्धार व्यवस्थापन कोषमा हाल सम्म ३१ लाख ६५ हजार ५ सय ३ रुपैयाँ ४४ पैसा जम्मा भएको जानकारी गराए । हाल विभिन्न स्थानिय तहमा झण्डै ८ सय जना क्वारेन्टाईनमा छन भने २ सय ९ जनामा कोरोना संक्रमण पुष्टी भै सकेको छ । ति मध्ये १ सय १० जना घर फर्किसकेको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले जानकारी दिए । कार्यक्रममा काँग्रेसका विभिन्न भातृ एवं सुवेक्षुक संस्था जिल्ला स्तरका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम भुपु सैनिक संघ बागलुङका अध्यक्ष क्याप्टेन हरिबहादुर भण्डारीको अध्यक्षता र महिला संघका अध्यक्ष शकुन्तला शर्माको संचालनमा सम्पन्न भएको थियो ।