बागलुङ–
राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टी बाट निर्वाचित वडा अध्यक्ष एवं जिल्ला सदस्यसहित आफ्ना तीन जना कार्यकर्तालाई पार्टिबाट निष्कासन गरेको छ ।
कोरोना कहरका कारण प्रभावित भएका मजदुर तथा विपन्नलाई वितरण गर्न पठाईएको राहत सामग्री खोलामा बगाएको र निर्वाचनका बेला आफ्ना उम्मेदवारलाई असहयोग गरेको भन्दै राजमोले आफ्ना कार्यकर्तालाई पार्टीबाटै निश्कासन गरेको छ ।
मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीले प्रेस बिज्ञप्ती जारी गर्दै ढोरपाटन नगरपालिका–४ का जिल्ला सदस्य तिलक पुन, सोही ठाउँका तिल बहादुर फगामी र गनबहादुर फगामीलाई पार्टिबाट निष्कासन गरेको जनाएका छन । निष्कासनमा परेका तिलक पुन राजमोबाट उम्मेदवार बनेर निर्वाचित वडाअध्यक्ष हुन् । तिल बहादुर फगामी र गनबहादुर फगामी सोही वडाका निर्वाचित वडा सदस्य हुन् ।
प्रवासी नेपाली र प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यन्न किनेर असार १३ गते ढोरपाटन नगरपालिका– ४ खुँगातर्फ ट्रयाक्टरमा लगिएको राहत राजमोका कार्यकर्ताले खोलामा फ्याँकिदिएका थिए भने राहत लिएर जानेहरुमाथि आक्रमण गरेका थिए । उनीहरुले बिरामी उपचार गर्न पठाएको नगद समेत खोसेर लगेका थिए । राष्ट्रिय जनमोर्चाका कार्यकर्ताको आक्रमणबाट राहत वितरण गर्न गएका डिलबहादुर सेरबुजा र ट्रयाक्टर ड्राइभर घाइते भएका थिए ।
उक्त घटनामा राष्ट्रिय जनमोर्चाको तर्फबाट नगरपालिकाको वडा नं ४ मा निर्वाचित वडाध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामी संलग्न देखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘उक्त घटनामा संलग्न देखिएकोले उनीहरु तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत निष्काशन गरेको छ । राजमो बागलुङले घटनाबारे छानबिन गरी पठाएको प्रतिवेदनका आधारमा तीनै जना जनप्रतिनिधि दोषी देखिएकोले कारबाही गरिएको अध्यक्ष केसीद्वारा मंगलबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।