काठमाडौं । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।
सुरक्षाको मापदण्ड अपनाएर यातायातका साधन चलाउने तयारी भइरहेको सरकारले जनाएको हो । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्न निर्देशन दिइसक्नु भएको छ । एक सिटमा एक यात्रु, मास्क, स्यानिटाइजरको व्यवस्थासहित सबै विकल्पहरू राखेर सार्वजनिक यातायात चलाउने मापदण्ड बनाइंदैछ ।
त्यसका आधारमा यसै महिनाको अन्त्यमा निर्णय हुनेछ । लकडाउन अझै लम्बिने, तर सार्वजनिक यातायात नचल्दा सर्वसाधारण समस्यामा परेपछि सञ्चालन गर्न लागिएको सरकारको भनाइ छ ।
ट्याक्सीमा एकजना मात्र यात्रु राख्ने गरी सञ्चालन गर्न दिने तयारीबारे पनि छलफल भइरहेको छ । यातायात व्यवसायी तथा ट्याक्सी चालकहरूले सार्वजनिक यातायात चलाउन दबाब दिँदै आएका छन् ।