-दिलिप बाबु शिव
बेहडा बाबा प्रदेश नं. ७ को मात्रै नभई मुलुककै बहुचर्चित आस्थाको केन्द्र मानिन्छ ।
जहाँ पत्नीलाभ, पुत्रलाभ, धनलाभलगायत धेरै मनोकांक्षा बोकेर तिर्थालुहरु आउने गरेको स्थानीय बताउँछन् । राज्यको उचित लगानी हुन नसक्दा ओझेलमा पर्दै आएको छ ।
स्थानीय बुद्धिजीवीहरुका अनुसार मन्दिर भएको स्थान घना जंगल रहेको स्थान हो ।
परापूर्वकालमा शिव लिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको मन्दिर पूजारी तथा बयोबृद्धहरुको भनाई छ ।
रामपुर गाउँस्थित जंगलकिनारमा अवस्थित सो मन्दिरमा भएको शिव लिंग परिवर्तनशिल देखिएको छ ।
उहिले भारतीयहरुको सो क्षेत्रमा दबदबा थियो । जंगबहादुर राणाले ब्रिटिस कम्पनीलाई सघाए बापत प्राप्त भएको नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाको भूभागमा उहिले भारतीयहरु नै आवतजावत गर्ने गर्थे ।
त्यस ठाउँमा बाक्लो जंगल भएका कारण त्यहाँ मानिसहरुको त्यति बसोबास थिएन । जब सो मुलुक नेपाललाई भारतले बक्स गरेपछि त्यहाँ फाट्टफुट्ट नेपाली मूलका आदिबासीहरु त्यहाँ बसोबास शुरु गरेको बताइन्छ ।
भारतीय नागरिकहरु त्यहाँ घुम्न आएका बेला सो लिंग फेला पारेका थिए ।
भारतीयहरु शिव लिंगमा डोरीले बाँधेर कयौं पटक उखेल्न प्रयास गरेको तर उनीहरुको प्रयास असफल भएको जनाइएको छ । उखेल्न नसकेपछि उनीहरुले फलामको घनले हिर्काएका थिए रे । घनले हिर्काएको छाप अहिले पनि लिंगको माथिल्लो भागमा स्पष्ट देख्न सकिन्छ ।
उनीहरु लिंगलाई जमिनबाट उखेली आफ्नो ठाउँ (भारत)मा लग्ने लाखप्रयास गर्दा पनि लिंग त्यहाँबाट हलचल नभएपछि सोही ठाउँमै मन्दिर स्थापना गरिएको जनविश्वास छ ।
आदिवासी थारूहरु त्यस ठाउँको जंगल फँडानी गरी बस्नयोग्य बनाएपछि चलाख भारतीय नागरिक पनि त्यहाँ आई बसोबास गरेको मानिन्छ । मन्दिर स्थापना गर्न तथा त्यसको स्यहारका लागि पनि भारतीय नागरिक त्यहाँ बसाई गर्न आएको जनविश्वास छ ।
सानो रुपमा देखिएको सो शिव लिंग अहिले बढ्दै–बढ्दै ७÷८ फिट अग्लो भएको छ । अहिले त्यहाँ पक्की मन्दिर स्थापना गरिएको छ । तर पूजारी भने अहिले भारतीय नागरिकलाई हटाई त्यहाँका आदिबासीहरुलाई नियुक्त गरिएको छ ।
मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ ।
त्यस तलाउमा स्नानगरी दर्शनार्थीहरु शिवजीको पूजा गर्ने गर्दछन् । माघे संक्रान्तिका दिन जलासयमा स्नानगरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ । यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तानलाभ, धन प्राप्तिका साथै नयाँ जोडी प्राप्ति हुने विश्वास गरिन्छ ।
यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटकहरु दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन् ।
कसरी पुग्ने बेहडाबाबा ?
बेहडा बाबा मन्दिर कैलाली सदरमुकाम धनगढी बजारस्थित क्याम्पस चौकबाट करिब १० किलोमिटर पूर्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गको चौमाला बजारबाट करिब ६ किलोमिटर दक्षिणमा अवस्थित छ ।
दुवै बाटो भएर बेहडाबाबा मन्दिरसम्म पुग्न सकिन्छ ।
तस्वीर तथा जानकारी सौजन्य ~ दिनेश कलेल धनगढि