कलियुका श्रवणकुमार

भनिन्छ पृतीले सेवा पाउन र पृती सेवा प्राप्त गर्न भाग्यमा लेखेर ल्याएको हुनुपर्दछ ।

कति मान्छेहरुले अफ्ना आमाबाबुको अनुहारनै देख्न पाएका हुँदैनन् । कतिले देखेर पनि वास्ता गदैनन ।

कतिले चाहेर पनि सेवा दिन सकेका हुँदैनन भने कतिले सँगै भएर पनि दुःख दिईरहेका हुन्छन । संभवत यो एउटा नियतिको खेल पनि हुन सक्दछ ।

सन्तान सुख पाउनु, खुशी पाउनु र लामो आयु पाउनु भन्ने कुरा कतिपय मान्छेका यो जन्मकै र कतिपयको अघिल्लो जन्मकै कर्मको फल पनि हुन सक्दछ ।

जुन आमा बाबुले भ्रुण हत्या गर्दछन, आफ्ना बालबालिकाहरुको बाल्य अवस्थामा ध्यान पु¥याउन सक्दैनन र सहि व्याबहारिक ज्ञान उपलब्ध गराउन सक्दैनन, उनिहरुलाई बुढेसकालमा सन्तानले सुःख दिएनन भन्ने खासै अधिकार हुन्छ जस्तो मलाई लाग्दैन ।

हुनत आफ्नो परिवार, बच्चा बच्ची र समाज छोड्नु सबैका लागि रहर नहुन सक्छ ।

हाम्रो जस्तो अविकसित मुलुकमा रोजगारिको राम्रो व्यबस्था नहुँदा विदेश तिर हानिनुपर्ने आफ्नै बाध्यता पनि छ तर पनि पछिल्लो समय जुन किसिमले पलायनवाद बढ्दो छ यसले भविश्यमा अवश्य पनि राम्रो नतिजा निकाल्ने छैन भन्ने धेरैको ठम्याई छ ।

कोरोनाको महामारीले केहि मान्छेहरुलाई आजभोली गाउँ तिर फर्काएको छ त्यसैले गाउँ हरु प्राय अहिले रमाइला छन ।

खेति पातिको काम सुरु भएको छ । तर पनि केहि समय पछि जव यो महामारीको रुप फेरिने छ त्यस पछि फेरि उनिहरुको यात्रा शहरतिरै मोडिने छ । यसमा दुई मत छैन ।

विदेशमुखी रोजगारी र शहरमुखी बसाई सराईले एकातिर गाउँघरहरु रित्तिदै छन, उत्पादन लगभग सुन्य जस्तै छ, निर्यात भन्दा आयातको औसत अत्याधिक धेरै छ ।

गुणस्तरिय शिक्षका नाममा बालबालिकाहरु शहरका साँगुरा कोठा र होस्टेलहरुमा कोचिँदै छन भने गाउँघरमा बुढाबुढीहरु बेसाहारा भएर बाँच्न बाध्य छन ।
छोराबुहारीले विदेशबाट कमाएर पठाएको पैसाले न एकलोटा पानी सारेर पिउन दिन्छ, न विरामी हुँदा बोकेर हस्पिटल पु¥याउछ, न आडैको छिमेकि मर्दा दाउरा बोकेर मलम जान्छ, न एक्लै हुँदा त्यो मुखबोला साथी बन्न सक्छ ! उदेक छ जिन्दगी…

यो अवस्थामा लोकन्थली निवासी मेजर थम्मन बहादुर बस्नेत (अ प्रा) यौटा यस्तो अनौठो पात्र हुनुहुन्छ जो आफै साठीको दसकमा हिंडिंरहनु भएको छ र पनि आफ्ना उनान्सय वर्षिय बाबुको सेवामा दिनरात खटिइरहनुहुन्छ ।

सामान्यत पैसठ्ठी सत्तरी वर्ष पुगे पछि हाम्रो समाजमा सबैलाई बुढ्यौलीले छुन्छ । थमन बस्नेत यसको अपवाद हुनुहुन्छ भन्न म सक्दिन तर पनि उहाँ आफ्नो बुढ्यौलीपन बाबुको अगाडि कहिल्यौ देखाउनुहुन्न । न परिवार र समाजका सामु देखाउनुहुन्छ ।

“ए बावु मेजर ! कता छस ?” भनेर ति सताब्दि पुरुस, बलबहादुर जो दोश्रो विश्वयुद्धको सम्भवत त एक वा दुई जना भित्र पर्ने जिउँदो लडाकु हुनुहुन्छ, उहाँले बोलाउनु हुन्छ ।

“म यतै छु बा आईहालेँ” भन्दै फुरुङ्ग पर्दै थमनजी बावुको छेउँमा पुग्नुहुन्छ । यस्तो लाग्छ उहाँको शरिरमा अझै त्यो नेपाली सेनामा हुँदाको रगत सेलाएको छैन ।

सायद त्यसैलेत बलबहादुर आफ्नो छोरालाई छोरा भन्नु भन्दा पनि मेजर भनेर डाक्नु हुन्छ र कोहि मान्छेहरु सँग कुरा गर्नु प¥यो भने मेरो अर्दली भनेर चिनाउनु हुन्छ ।

उमेरले आफ्नै शरिरलाई तेल चाहिने भएका बेला थमनजी हरेक दिन बेलुकि सुत्नु भन्दा अगाडि आफ्ना बृद्ध बाबुलाई तातोपानीले शरिर पुछिदिएर तेल लगाईदिनु हुन्छ । “तेल लगाएर बावुको खुट्टा माडिदिँदा साँच्चिकै भगवानको पाउ छोएको अनुभुति हुन्छ ।

मेरो घरमा जिवित भगवान हुनुहुन्छ । त्यसैले त मलाई सजिलै खान बस्न पुगेको छ” भन्नुहुन्छ थम्मनजी ।

विहानै उठेर तातोपानीले शरिर पुछपाछ गरेपछि यो उमेरमा पनि बावु बलबहादुरलाई पढ्न जान मन लाग्छ । उहाँ ॐ शान्ती प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यायमा पढ्न जानुहुन्छ । त्यो सबको तयारी पनि थमनजीले नै गरिदनुहुन्छ ।

जव विस्तारै विस्तारै उहाँ लौरो टेकेर बाटोमा हिंडिरहनु हुन्छ, थमनजी पछाडिबाट पच्छ्याईरहनु हुन्छ कारण बावुलाई कसैले छोड्न हिडेको र डो¥याएर पढ्न लगेको मन पदैन ।

“तै पनि शहरको कोलाहल, जथाभावि बाइक र गाडिहरुको हुईक्याई त्यतिकै छोड्न मनले नै मान्दैन” भन्नु हुन्छ थमनजी ।

नौ साढे नौ बजे बुवा पढेर फर्कनु हुन्छ, त्यस पछि बावुछोराको खाना खाने समय संगै हुन्छ । प्रत्येक दिन बावुको खानाको मात्रा घट्छ या बढ्छ, या उस्तै छ भनेर थमनजी चेक गर्न पनि सँगै खानाखान बस्नुहुन्छ ।

खाना खाएपछि बुवा बलबहादुरलाई एकछिन लेखपढ गर्न मन लाग्छ । आँखा अझै उस्तै तेज छन ।

लेखाई कुनै युवा विद्र्यार्थीको भन्दा कम छैन । दैनिक तीन देखी चार पेज लेख्नु हुन्छ र त्यो दिनका लागि (दुई देखि तीन घण्टा) विश्राम लिनुहुन्छ । यतिनै बेला बल्ल थमनजीले फुर्सद पाउनुहुन्छ र सामाजीक काममा दगुर्नु हुन्छ ।

घर दुइटा टोलको विचमा छ ; माथी आकाशमार्ग टोल र तल संगममार्ग टोल ।

उहाँ दुबै टोलका लागि महत्वपुर्ण भुमिकामा हुनुहुन्छ । आकाशमार्ग टोलमा विशेष सल्लाहाकारमा हुनुभएका थमनजी संगम मार्ग टोलको टोल विकाश समितीको अध्यक्ष पदमै रहेर काम गरिरहनु भएको छ । टोलका लागि खाने पानी, बाटोघाटो र ढल निर्माणमा कटिबद्ध उहाँ विभिन्न सरकारी कार्यालय, टोलका झैझगडा र मेलमिलापमा पनि उपस्थित हुनै पर्ने हुन्छ । यि सव काम कुराहरु कतिबेला कसरि मिलाउनु हुन्छ, त्यो उहाँकै परिवार र टोलकै लागि पनि रहस्यमय जस्तै छ ।

त्यसै माथि आफ्ना आफन्त, छरछिमेक र चेलिवेटीहरुलाई पनि त मतलव नगरि हिंड्नु भएन ।

बुढाबुढी भएको ठाउँमा आफन्तहरु भेट्न आईरहन्छन तिनलाई सम्मान र सत्कार गर्नै प¥यो । थोरै भएपनि समय दिनै प¥यो ।

कहिले काँहि नेपाली सेनाबाटै सरसहयोग र छलफलको लागि बोलावट हुन्छ, आफुले जानेको सीप र ज्ञान आफ्नो संस्थाले माग्दछ भने दिनै प¥यो उहाँ त्यहाँ पनि पुग्नु हुन्छ ।

समाजमा हुने विहे, ब्रतबन्ध, मरु, पुजाआजा देखि लिएर कसैका घर बन्दैछन या कसैलाई मुद्धामामिला परेको छ, त्यसमा पनि उहाँ बेलैमा उपस्थित भएर सर सल्लाह दिनुहुन्छ ।

साच्चिकै उहाँलाई देख्ने र भेट्नेहरुलाई यस्तो लाग्छ, “उहाँको बुढ्यौली कहाँ छ ?”

“यि सव कुराहरु कहिले र कसरि भ्याउनु हुन्छ ?

थकाई लाग्दैन ?” भनेर सोध्यो भने उहाँ भन्नुहुन्छ, “यो मेरो मात्र हाईन मेरी श्रीमती र छोरी बुहारीहरुको पनि देन हो ।

सवैको सहकार्यको उपलब्धिनै सकारात्मक सोच र ब्याबहार हो । हाम्रो परिवारको खुशी हो ।”
गलकोटे भएका नाताले गलकोटमा हुने जुनसुकै ठुलादेखी साना कार्यक्रमहरुमा सम्भव भएसम्म आफ्नो नाममा होस या बावुको नाममा आर्थिक र भौतिक सहयोग गरिरहनु हुन्छ । “निस्क्रिय जीवन बाँच्नु भनेको धर्तीकालागि बोझ हो” भन्न रुचाउने थमनजी सकभर एकछिन पनि निस्क्रिय बस्न रुचाउनु हुन्न ।
“सन्तानको माया, स्याहार सुसार र बोलीचाली बुढेसकालमा बाँच्ने प्रेरणा दिँदोरहेछ । बुढी वितेर गएको आठ दश वर्ष भईसक्यो र पनि मलाई मर्न मन लागेको छैन । एकदिन मर्नु जरुर छ तर पनि काल डाकीरहनु परेको छैन ।” खुशीहुँदै भन्नुहुन्छ बुवा बलबहादुर ।

जव बुवाको नाममा किताव बजारमा आयो “बलबहादुरः दोश्रो विश्वयुद्धका जिउँदा युद्ध बन्दी” त्यस पछि थमनजी असाध्यै खुशी हुनुभयो र लेखक संगको सहकार्यमा र बुवाको सम्झना तथा सम्मानमा बलबहादुर फउन्डेसननै स्थापना गरिदनुभयो ।

बावु प्रतिको त्यो लगाव, माया, स्याहार सुसार र सम्मान देखेर जो कोहि उहाँ प्रति दंग पर्छन । सवैले भन्छन– “छोरो होस त थमन जस्तो ।”

त्रेता युगमा श्रवणकुमारको कथा सुनियको थियो । कलियुगमा यस्तो न कतै देखिन्छ न कतै सुनिन्छ तर थमन बस्नेत यस्ता पात्र हुनुहुन्छ जसलाई जो कोहिले देख्न, भेट्न र बुझ्न सक्छ । जति कुराहरु यो लेख पढ्दा अनुभुति भएको छ त्यो भन्दा दोब्वर उहाँलाई भेट्दा आनन्द आउँछ ।

आजको हाम्रो समाजका लागी थमनजी साच्चीकै एक उदारणीय पात्र हुनुहुन्छ ।

उहाँबाट हाम्रो समाजले सिक्नु पर्ने र आफ्ना सन्तानहरुलाई सिकाउनु पर्ने प्रशस्त कुराहरु छन । कलियुगमा यस्ता श्रवणकुमारहरु विरलै जन्मन्छन । जन्मेका हरुपनि विदेश तिर जान बाध्य छन ।

त्यसैले यस्ता ब्याक्तिहरुको सिको हाम्रा सन्तानहरुलाई देखाउन, सुनाउन र सिकाउन पायौं भने हाम्रो पनि भोलिको भविश्य उज्जल हुनेछ । बुढेसकालमा बृद्धआश्रम खोज्नु पर्ने छैन ।

र जवानिमा गरेका गल्तिहरु सम्झेर पछुताउनु पनि पर्ने छैन ।

थमनजी र उहाँको परिवार सँगै उहाँको वृद्ध बुवाको दृघ स्वास्थ्यको कामना गरौं र यसै गरि सभ्य र सुन्दर समाजको निर्माणमा लागि परौं । भविश्य सवैको उज्जल हुनेछ ।

जय बलबहादुर ! जय नेपाल !

मन बहादुर खत्री (सागर)
स्थाई ठेगानाः गलकोट ५, बाग्लुङ
हालः काठमाण्डौ वानेश्वर
२०७७।०३।२५

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →