अपडेट – म्याग्दीमा पहिरोमा परी ३१ जना बेपत्ता, उद्धारका लागी आएकाे हेलकप्टर मौसमका कारण बस्न सकेन

म्याग्दी,-
अविरल बर्षाका कारण म्याग्दीमा पछिल्लो जानकारी अनुसार ३१ जन बेपत्ता छन् भने ३ जनाको शव फेला परेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार उद्धारका लागी आएको नेपाली सेनाको हेलिकप्टर प्रतिकुल मौसमका कारण बस्न नसकी फर्किएको छ । भीषण वर्षा जारी रहेका कारण घटनास्थलमा उद्धार टोली पुग्न सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी ढकालले दिएको पछिल्लो अपडेट अनुसार सो बाढी पहिरोमा परी ३१ जना हराएका छन् ३ जनाको शव फेला परेको छ ।

धवलागिरी–६ का २१ र मालिका–७ बिमका ८ जना वेपत्ता भएका हुन् । मराङको रिखामा ७, नामरुकमा १०, ठूलोगाउमा १, कुम्रिमा १ जना र दुखुकी एक महिलालाई दुखु खोलाले बगाउदा वेपत्ता हुन ।

मराङमा रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना वेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन् । परदेवी पुन र बिरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले पुरिदा बिष्णु शर्मा र इच्छा शर्मा वेपत्ता भएका छन् । वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा वेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ ।

बिम तल्लो गाउका पूर्ण नेपाली र बिरबहादुर नेपालीको घर पुरिदा पाँच जना वेपत्ता भएका छन् । भारवाङ स्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताउनुभयो । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढा लगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ ।

त्यस्तै जिल्लाको रघुगंगा गाउँपालिका– ३ पिप्ले र बेनपा ९ घतान जोड्ने मोटरेबल पुल रघुगंगा नदिले बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बन्द भएको छ ।मोटरेबल पुल नजिकै रहेको झोलुङ्गे पुल समेत बगाउने अबस्थामा रहेको छ । पुल नजिकैको २० घर परिवारलाई रघुगंगा गाउँपालिकाले राहतको व्यवस्था गर्ने जनाएको छ ।

विस्तापित हुने अवस्थाका २० घरपरिवारको लागि तत्काल गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट सहयोग गरिने गाउँपालिका अध्यक्ष भब बहादुर भडारीले बताउनुभयो । अविरल बर्षाले म्याग्दीका विभिन्न ग्रामिण सडक समेत अवरुद्ध गरेको छ । भने दजनौँ बस्ती जोखिममा रहेका छन् ।