नायक तथा कलाकार भुवन केसीले १० करोड क्षतिपूर्ति माग दाबीसहित नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।
नायक केसीले आफूविरुद्ध गालीबेइज्जती गरेको भन्दै शुक्रवार अदालतमा उपस्थित भएर नायिका शाहविरुद्ध मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताए ।
‘१० करोड माग दाबी गरेर नायक भुवन केसीले नायिका सम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दायर गर्नुभएको छ,’ कार्कीले लोकान्तरसँग भने ।
फिल्ममा काम गर्दा आफूमाथि दुर्व्यवहार गरेको आरोप सम्राज्ञीले असारमा सामाजिक सञ्जालमार्फत लगाएकी थिइन् ।
उनले फिल्म ‘ड्रिम्स’ मा काम गर्दा निर्माता भुवन केसीले दुर्व्यवहार गरेको आरोप लगाएपछि यी दुईबीच सामाजिक सञ्जालमै दोहोरी चल्दै आएको थियो ।
सामाजिक सञ्जालमा अन्य प्रयोगकर्ताहरू पनि पक्षविपक्षमा बहसमा उत्रिँदै आएका छन् ।
सामाजिक सञ्जालमा आरोपप्रत्यारोपको लामो श्रृंखलापछि केसीले अदालतको ढोका ढक्ढक्याएका हुन् ।