काठमाडौं । कोभिड–१९(कोरोनाभाइरस) संक्रमितको संख्या बढिरहँदा लकडाउनलाई खुकुलो बनाएको सरकारले पुनः आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ ।
उपत्यका र देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले आवतजावतमा समेत कडाइ गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूमा कडाइ गर्न निर्देशन दिइसकेको छ ।
लकडाउन खुलेको दुई सातामा देशमा संक्रमितको संख्या बढेको हो । आइतबारसम्ममा कोरोना संक्रमितको संख्या २० हजार भन्दा धेरै भइसकेको छ भने ५६ जनाले ज्यान गुमाएका छन् ।
लकडाउन खुलेपछि बढ्यो
एक जनामा कारोना संक्रमण देखिएपछि सरकारले लकडाउन गरेको थियो । तर संक्रमितको संख्या बढिरह्यो ।
संक्रमितको संख्या बढिरहेपनि लकडाउन खुला भयो । छोटो दूरीमा सार्वजनिक यातायाता सञ्चालनमा आए । उद्योग व्यवसाय, बजार होटलहरु सञ्चालनमा आए ।
त्यसपछि कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार लकडाउन खोल्नुभन्दा अघि र पछिल्ला ११ दिनको तुलनामा संक्रमण ०.८ प्रतिशतले बढेको छ ।
लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३ सय ४५ नमुना कोरोना पोजिटिभ देखिएको थियो । यो कुल संकलित नमुनामा २.८ प्रतिशत हो ।
केही प्रतिबन्धसहित लकडाउन हटेको पछिल्ला ११ दिन शनिबारसम्ममा ५८ हजार १ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९२ नमुना कोरोना पोजिटिभ देखिएको छ । यो कुल संकलित नमुनामा ३.६ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढिरहेको बताए ।
मन्त्रालयका प्रवक्ता डा गौतमले स्वास्थ्य सावधानी नअपनाउने हो भने ठूला सहरहरुमा समस्या जटिल हुने बताए ।
कोरोना संक्रमण उपत्यकामा थप विस्तार भए जनस्वास्थ्यमा गम्भीर असर पर्ने उनको भनाइ छ ।
उपत्यका मात्र नभइ देशका अन्य ठूला सहरहरुको अवस्था पनि त्यस्तै रहेको छ ।
तराईका वीरगञ्ज, कैलाली, बाँके लगायतका सीमावर्ती जिल्लामा संक्रमितको संख्या उल्लेख रुपमा वृद्धि भएको छ ।
फेरि लकडाउनको तयारी ?
सरकारले भने कोरोना संक्रमितको संख्या बढ्दै गएर अवस्था काबु बाहिर गएको खण्डमा पुन लकडाउन गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अवस्था नियन्त्रण बाहिर गए पुन लकडाउनमा जान सकिने बताए । अहिलेसम्म लकडाउनको तयारी नगरिएको भएपनि अवस्था नियन्त्रण बाहिर गए लकडाउन गर्नुको विकल्प नभएको उनले बताए ।
‘अहिलेसम्म लकडाउनको तयारी छैन, तर अवस्था गम्भीर बन्दै गयो भने जुनसुकै बेलामा पनि लकडाउन गर्न सकिन्छ’ मन्त्री ढकालले भने ,‘अहिले खुल्ला छोड्दा पछि प्रतिकुल अवस्था बन्न गयो भने समस्या पर्छ ।’
लकडाउन मात्र विकल्प नभएको भन्दै मन्त्री ढकालले अन्य उपायका साथमा लकडाउन तथा आवतजावतलाई व्यवस्थित बनाउनु पर्ने बताए ।
वीरगञ्ज लगायतका स्थानको अवस्था संवेदनशील भएको भन्दै मन्त्री ढकालले त्यहाँको परिस्थितिबारे छलफल भइरहेको बताए ।
वीरगञ्जका मेयर विजयकुमार सराबगीमा कोरोना संक्रमण पुष्टि भएको छ भने आइतबार मात्र उनका परिवारका दुई सदस्य सहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विज्ञहरुले देशका केही स्थानमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको चेतावनी दिइरहेका छन् तर स्वास्थ्य मन्त्रालयले भने त्यसलाई अस्वीकार गर्दै आइरहेको छ ।
संक्रमण देखिएको स्थानमा सिल
कोरोना संक्रमित बढ्दै जाँदा तत्कालै लकडाउनमा नगए संक्रण देखिएको स्थानमा सिल गर्दै अघि बढ्ने नीति सीसीएमसीले अघि सारेको छ ।
सीसीएमसीका सचिब महेन्द्र गुरागाइँका अनुसार संक्रमित देखिएको क्षेत्रलाई सिल गर्ने, त्यहाँका सम्भावितलाई परीक्षण गर्ने र संक्रमितलाई आइसोलेसन गर्ने कुरालाई प्राथमिकतामा राखिने छ ।
उनले अनावश्यक आवतजावतलाई नियन्त्रणमा लिए, अन्तर जिल्ला आवतजावतमा कडाइँ गर्ने लगायतको काम भइरहेको बताए ।
मापदण्ड विपरित र सञ्चालन नगर्नु भनिएका क्षेत्रहरु समेत सञ्चालनमा आइरहेको खबरहरु आएको भन्दै त्यस्ता क्षेत्रको सम्बन्धित मन्त्रालयले अनुगमन गर्ने र त्यसमा गृह मन्त्रालयले समन्वय गर्ने उनको भनाइ छ ।
खोल्न पाउने भनिएका बाहेक पसल बन्द गर्ने विषयमा निर्देशन भइसकेको उनले बताए । होटल र रेस्टुरेन्टहरू पनि मापदण्डबाहिर रहेर सञ्चालन भइरहेको भन्दै त्यसको अनुगमन हुने उनले बताए ।
कोरोनाबाट बच्न नागरिक आफै सचेत हुनुपर्ने उनको भनाइ छ ।
‘नागरिक आफैं सचेत हुनुपर्छ । तपाईं–हामी जोकोहीले पनि जता पायो त्यतै जाने, समूहमा बस्नेजस्ता गतिविधि गर्नु हुँदैन’ गरागाइँले भने,‘ त्यो नगर्ने हो भने त जोखिम बढ्छ । परिवारभित्रै सर्ने जोखिम रहन्छ ।’