काठमाडौं । समुदायमा नोबेल कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका सरकारी, निजी र गैरसरकारी सङ्घसंस्था सञ्चालनमा नयाँ मापदण्ड लागु गरिने भएको छ ।
कस्तो मापदण्डलाई अन्तिम रूप दिने भन्ने बारेमा छलफल गर्न आज काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।
उपत्यकामा सञ्चालित कार्यालय, उद्योगरकलकारखाना, होटल र रेस्टुराँ, दैनिक उपभोग्य वस्तु विक्री स्थल, सपिङ सेन्टरलगायतमा नयाँ मापदण्डको तयारी थालिएको हो । सरकारी कार्यालय, बैंक तथा दैनिक उपभोग्य वस्तु विक्री स्थलमा सेवा लिने व्यक्तिका लागि अस्थायी मापदण्ड बनाउन लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।
उपत्यका बाहिरबाट आउने मानिसको चापलाई व्यवस्थित गर्न र आवश्यक देखिए सवारी आवागमन अनुमति प्रदान गर्न यसअघि नै प्रदेशगत रूपमा उपत्यकाका तिनवटै जिल्लाले जिम्मेवारी बाँडफाँड गरेका छन् ।
जसअनुसार प्रदेश १ र २ बाट आउजाउ गर्नेलाई भक्तपुर प्रशासन, वाग्मती, गण्डकी र प्रदेश ५ लाई काठमाडौँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका मानिसको आवतजावत व्यवस्थापन ललितपुर प्रशासनलाई तोकिएको छ ।