बागलुङ-
कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाको बागलुङ नगरपालिका क्षेत्र भित्र एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा जोखिम बढेको भन्दै आगामी १० दिनका लागि लकडाउन गर्ने सिफारिस आए पनि जिल्ला कमाण्ड पोष्ट र सरोकारवाला बिचको बैठकले मंगलबार राती १२ बजे देखी लागुहुने गरी एक सातालाई निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । नगरपालिकाको बिभिन्न वडामा समुदाय स्तरमा संक्रमण देखिए पछि निषेधाज्ञाको निर्णयमा पुगेको प्रजिअ न्यौपानेले बताए ।
अब यस अवधिमा बानपा १ देखि १४ वडामा अत्यावश्यकीय काम बाहेक घर बाहिर निस्किन नपाउने र सबै वडाका सेवा बन्द हुनेछन् । अत्यावश्यक सूचीमा खाद्यान्न, तरकारी, दुध, औषधि, दाना ढुवानी, एम्बुलेन्स, कृषि तथा पशु उत्पादन मल बीउ लगायत राखिएको छ । दैनिक उपभोग्य तथा अति आवश्यक सामग्री खरिद बिक्रीका लागि विहान ७ बजेदेखि ९ बजे र अपरान्ह ४ देखि साँझ ६ बजे सम्म खुल्ला गरिन कमाण्ड पोष्टले निर्णय गरेको छ । नगरपालिकाको वडा नम्बर २ मा एक होटल व्यवसायी महिला, ३ मा कुखुरा पालन व्यवसाय गर्दै आएकी एक महिलामा कोरोना संक्रमण देखिए पछि कन्ट्याक्ट ट्रेसिङ गर्दा ठुलो संख्यामा सम्पर्क भएको पाइएकाले जोखिम बढेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव सुरज गुरौले बताए । समुदायमा संक्रमण देखिए सगै नगरक्षेत्रमा झनै जोखिम बढेको छ । संक्रमितको सम्पर्कमा धेरै जना हुनुहुन्छ । गुरौले भने–‘उहाँहरुको कन्ट्रायक्ट हिस्ट्री हेर्दा ठुलो संख्या र ठाउँका व्यक्तिहरु सँग सम्पर्क भएको पाइयो, त्यसैले थप जोखिम रोक्न पनि निषेधाज्ञाको निर्णयमा पुगिएको हो ।’ यस अघि गत शनिबार जिल्लाको बडिगाड गाउँपालिकामा एक वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टी भए सँगै गाउँपालिका भरी पुर्ण रुपमा लकडाउन गरिएको थियो भने, जिल्ला भरी नै जोर विजोर प्रणाली लागु गरिएको थियो ।