पीसीआर परीक्षणको शुल्क घट्यो, समन्वय नगरी बिरामी रिफर गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना छ कि छैन पत्ता लगाउन गरिने पीसीआर परीक्षण शुल्क घटाइएको जानकारी दिए ।

उनका अनुसार सेवा शुल्कसहित पीसीआर परीक्षणका लागि ४४०० रुपैयाँ तोकिएको छ ।

उनले भने, ‘पीसीआर परीक्षणको अधिकतम ४४०० रुपैयाँभन्दा माथि लिन पाइँदैन । यसअघि मन्त्रालयले पीसीआर परीक्षण गराउनका लागि ५५०० रुपैयाँ तोकेको थियो ।

मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ ।

त्यसैगरी सरकारले आईसीयूमा राख्नुपर्ने बिरामीलाई समन्वय नगरी अरु अस्पतालमा रिफर नगर्न निर्देशन दिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने बित्तिकै बिरामीलाई अस्पतालले कोभिड अस्पताल पठाउँदा समस्या आएपछि सरकारले कडा निर्देशन जारी गरेको हो ।

यसक्रममा केही बिरामीले बाटोमै ज्यान गुमाएका थिए । त्यसैले अर्को अस्पतालमा समन्वय गरेर र चिकित्सकको साथ लगाएर मात्र बिरामीई पठाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।

यो निर्देशन विपरीत बिरामी रिफर गर्दा केही तलमाथि भए त्यसको जिम्मेवारी रिफर गर्ने स्वास्थ्य संस्थाकै हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

यसैबीच श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ ।

पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा बसोबास गर्दै आएका ७७ वर्षीयको लोकन्थलीस्थित समिट अस्पतालमा आज अपराह्न मृत्यु भएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो । सङ्क्रमितको परिवारलाई भने घरभित्र छुट्टै बस्न आग्रह गरिएको जानकारी दिँदै उहाँले एक सातामा पिसिआर परीक्षण गरिने बताउनुभयो ।

श्वासप्रश्वास समस्या बढेपछि यही भदौ ११ गते अस्पताल भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा भदौ १३ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

नेपाली सेनाको वीरदल गणका टोलीले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा शव व्यवस्थापन गरेको गणपति शिव पौडेलले जानकारी दिनुभयो ।

यसअघि उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित भक्तपुर नगरपालिका –१ दूधपाटीका ६५ वर्षीय पुरुषको गए राति होम आइसोलेसनमै मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि सङ्क्रमित घरमै बसेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले जानकारी दिनुभयो । भक्तपुरमा हालसम्म चारचार महिला र पुरुष सङ्क्रमितको मृत्यु भएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →