झापा । भनिन्छ, हरेक पुरुषको सफलताका पछाडि महिलाको हात हुन्छ ।
कोरोनाविरुद्ध अग्रमोर्चामा खटिएका झापाका एक योद्धा अर्थात् एम्बुलेन्स चालक जङ्गबहादुर खड्काका लागि पनि पत्नी लक्ष्मी खड्काबाट प्राप्त हौसला ऊर्जा बन्ने गरेको छ ।
गत जेठ २२ गते उहाँले पहिलोपल्ट मेचीनगर–४ स्थित क्वारेन्टिनबाट कोभिड–१९ का एक सङ्क्रमितलाई एम्बुलेन्समा हाँकेर विराटनगरको कोभिड हस्पिटल लैजानुभएको थियो ।
“शुरुमा रोग सर्ने पो हो कि भन्ने निकै डर लागिरहेको थियो, यस्तो जागिर छाड्ने पो हो कि जस्तो गरी मनमा अनेक कुरा खेलिरहेको थियो”, हालसम्ममा एक सयभन्दा बढी सङ्क्रमित व्यक्तिलाई एम्बुलेन्समा हाँकेर अस्पताल पुर्याइसक्नुभएको उहाँ भन्नुहुन्छ, “त्यतिबेलै श्रीमतीको फोन आयो, उनले तपार्इं एउटा एम्बुलेन्स चालक हो, अप्ठ्यारोमै सहयोग गर्नुपर्छ । आफू सुरक्षित रहेर काम गर्नु केही हुँदैन भनेपछि मन हलुका र ढुक्क भयो ।”
मेचीनगर नगरपालिका–९ निवासी ४५ वर्षीय जङ्गबहादुर खड्का नगरपालिकाले कोरोना सङ्क्रमित बोक्नका लागि तोकेको मे१झ १३८ नंको एम्बुलेन्सका चालक हुनुहुन्छ ।
उहाँले जेठ २२ गतेयता कोभिड अस्पताल विराटनगर, गोठगाउँ, धरान र मेची अस्पताल गरी ११५ जना सङ्क्रमितलाई उपचारका लागि पु¥याइसक्नु भएको छ । उहाँले भन्नुभयो, “सेवा नै धर्म हो, यस्तो महामारीको बेला सहयोग गर्नु मानवको कर्तव्य हो म त्यही पूरा गर्दैछु ।”
जङ्गबहादुरकी पत्नी लक्ष्मी खड्का सामान्य गृहिणी हुनुहुन्छ ।
कोरोना बोक्ने एम्बुलेन्स ड्राइभरको पत्नी भनेर अरूले आँैल्याउने गरे तापनि लक्ष्मीले आफ्ना श्रीमान्लाई कोरोनाको विश्वव्यापी महामारीका बेला सेवा गर्ने जिम्मेवारीबाट पन्छिन नहुने भन्दै हौसला थप्दै आउनुभएको छ ।
“जब जब कोरोना सङ्क्रमितलाई बोकेर एम्बुलेन्स चलाइरहेको हुन्छु, त्यसबेला मलाई श्रीमतीले भनेको कुराले आत्मबल बढिहाल्छ”, उहाँले रासससँग भन्नुभयो ।
सङ्क्रमितलाई एम्बुलेन्समा चढाउँदा र ओराल्दा अपनाउनुपर्ने स्वास्थ्य सावधानी उहाँले राम्ररी पालना गरेको बताउनुभयो । सङ्क्रमितलाई बोक्न थालेयता तीन महिनादेखि उहाँ घर पनि जानुभएको छैन ।
कहिलेकाहीँँ घर छेउसम्म पुगेर टाढैबाट परिवारका सदस्यसँग बोलचाल गरी फर्किने गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाले उहाँलाई स्यानिटाइजर, गमबुट, मास्क, पञ्जा, फेस सिल्डलगायत सामान उपलब्ध गराउँदै आएको छ ।
धुलाबारी स्वास्थ्य केन्द्रको दरबन्दीवाहक एम्बुलेन्स चालक भएको हुँदा उहाँ कार्यालयले व्यवस्था गरेको कोठालाई क्वारेन्टिन बनाएर बस्दै आउनुभएको छ ।
जुनसुकै समय र अप्ठेरो परिस्थितिमा समेत सङ्क्रमितलाई अस्पताल पुर्याउन बोलाउनासाथ तयार भएर खटिने उहाँको स्वभावबाट आफू प्रभावित भएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले सुनाउनुभयो । रासस