काठमाडौं उपत्यकामा भोलिदेखि लागू हुने गरी सर्तसहित निषेधाज्ञा हटाइयो

काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा भोलिबाट केही क्षेत्रमा हट्ने भएको छ।

भदौ ३ गते देखि उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार-व्यवसाय क्षेत्रका लागि बिहीबारदेखि खुल्ने छ।

उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार र व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा पुगेका हुन।

अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आज बसेको बैठकको आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी छ। जसमा निर्णयबारे पूर्ण जानकारी उल्लेख छ।

दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो। रेष्टुरेन्टहरुको हकमा टेक–अवे सुविधा मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।

तर सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्दै रहने छन्।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न नपाइने बताइएको छ।

संक्रमित थपिएसँगै उपत्यकामा पछिल्लो चरण निषेधाज्ञा जारी गरिएको थियो । तर, निषेधाज्ञाका बीच पनि संक्रमितको संख्यामा कमी नआएको र अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै चर्को जनदवाव बढेपछि प्रशासन शर्तसहित खोल्न राजी भएको हो ।

असोज १ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको घोषणा

कोरोना भाइरसलाई कारण देखाउँदै लामो समयदेखि यातायात सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरुले आगामी असोज १ गतेदेखि यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनमा मात्र निषेध जारी राखेको भन्दै उनीहरुरले यस्तो घोषणा गरेका हुन् ।

बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउने अवस्था नबने असोज १ गतेदेखि कुनै पनि हालतमा सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन् ।

असोज १ गते विश्वकर्मा पूजा रहेको र त्यसदिनदेखि लामो र छोटो दूरीका सार्वजनिक यातायात चलाउने चेतावनी उनीहरुले दिएका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले सार्वजनिक यातायाता चलाउने बताए ।

उनका अनुसार विभागलाई सहजीकरण गर्न र सवारी सञ्चालनका लागि विकल्प दिन भनिएको र त्यसो नभए सार्वजनिक सवारी चलाउने बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सार्वजनिक यातायात चलाउने निर्णय आफूहरुले नभइ सरकारले गर्ने बताए ।

कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै सरकारले चैतबाट लकडाउन गरेको थियो । त्यसयता लामो दुरीका सार्वजनिक सावरी साधन चल्न सकेका छैनन् ।

केही समय अन्तर जिल्ला र छोटा दूरीका सवारी सञ्चालन भएको भएपनि अहिले विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपछि सवारी चल्न सकेका छैनन् । जसको मारमा यातायात व्यवसायी र मजदूरहरु परेका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →