काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्र काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा १६९ महिला र ३८६ पुरुष, भक्तपुरमा ३७ महिला र ४९ पुरुष, ललितपुरमा १६ महिला र १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
सोमबार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी देशभर ५१२ कोरोना भाइरस संक्रमित थपिएका थिए ।
आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थपिएका थिए । शनिबार काठमाडौं उपत्यकामा ४३१ कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्लै गएका छन् । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको बताए ।
उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ र होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना निको भएका छन् भने कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ जना पुगेको छ।
मृत्यु हुनेमा सिराहमा ३५ वर्षीया, बारामा ५५ वर्षीया, रुपन्देहीमा ६४ वर्षीया महिला र सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानुपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।
साथै काठमाडौंमा ८६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबट मृत्यु भएको छ।
लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने
काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।
बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।
यसअघि सोमबार मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिँदा मन्त्रीहरुले असोज ५ गतेदेखि सार्वजनिक यातायात खुला गर्ने जानकारी दिएका थिए । तर मन्त्रिपरिषदको निर्णय सुनाउने क्रमममा मन्त्री ज्ञवालीले असोज १ देखि नै यातायात सञ्चालन हुने जानकारी दिएका हुन् ।