बैंकर्स एसोसियसनको जैमिनीका पहिरो पिडितलाई सहयोग

बागलुङ-

बागलुङमा क्रियाशिल विभिन्न बैंकहरुको साझा संस्था बैकर्स एसोसिएसन बागलुङले जैमिनी नगरपालिकाको विभिन्न स्थानमा गएको बाढी पहिरोका पिडितलाई आर्थिक तथा राहत सहयोग गरेका छन् ।
बागलुङ बजारमा रहेका २८ वटा बैंकमा कार्यरत कर्मचारीहरुले संकलन गरेको रकम पिडितलाई हस्तान्तरण गरिएको हो । बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्मा र जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले पिडितलाई रकम हस्तान्तरण गरे । मंगलवार उनीहरुले बाढी पहिरो पिडितलाई प्रति परिवार ५ हजार रुपैयाँको दरले राहत रकम हस्तान्तरण गरेका हुन् । बाढीले अकल्पनीय क्षति पुगेकोले पिडितलाई सान्त्वना दिनका लागि सानो रकम ल्याएर दिएको शर्माले बताए । कार्यक्रममा उपप्रमुख रानाले पिडितको लागि सबै क्षेत्रले चासो राखेकोले सहयोग जुटेको बताए ।

उनले सबैको साथ र सहयोगबाटै पिडितको उचित व्यवस्थापन गर्ने समेत धारणा राखेका थिए । बैंकर्स बागलुङका अध्यक्ष दिपक शर्माको अध्यक्षता र सचिव ओमप्रकाश पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । जैमिनी नगरपालिका वडा नं. १ को टुनीबोटमा पहिरोले दुइ जनाको ज्यान गएको हो भने वडा नं. ५ बिनामारेमा १ जना गरी ३ जनाको ज्यान गएको थियो । पहिरोले टुनीबोटका ३९ घर बिस्थापित छन् । उनीहरुले यस अघि ढोरपाटन नगरपालिकाका बाढी पिडितलाई पनि राहत बितरण गरेका थिए ।