तमानखोला गाउँपालिकाले बनायो विद्यालयमै आइसोलेशन

बागलुङ-

विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभावले गत चैत्र देखी बन्द विद्यालय क्वारेन्टाईनमाको रुपमा प्रयोग गरिँदै आईएको छ । केही स्थानिय तहले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय संचालन गर्ने तयारी गरेका बेला जिल्लाको तमानखोला गाउँपालिकामा भने विद्यालयलाई नै आईशोलेशन निर्माण गर्नुपर्ने बाध्यता रहेको छ । गाउँपालिका भित्र पछिल्लो केही दिनमा समुदास्तरमा कोरोना संक्रमण फैलिए सँगै संक्रमितको उपचारका लागी गाउँपालिको स्थानिय स्तरमा नै आईशोलेशन तयार पारेको हो ।
गाउँपालिकाको वडा नम्वर १ बोङ्गादोभान स्थित जनजागृति माध्यमिक विद्यालयमा २५ बेडको प्रि–आइशोलेसन कक्ष निमार्ण गरिएको गाउँपालिका प्रमुख जोकलाल बुढाले जानकारी दिए । पहिले विभिन्न विद्यालयहरुमा क्वारेन्टाईन मात्र सञ्चालन ल्याएको गाउँपालिकाले अहिले भने क्वारेन्टाईनसँगै प्रि–आइसोलेशन कक्ष समेत सञ्चालन गरेको हो । गाउँपालिका भित्र अहिले सम्म २३ संक्रमित भेटिएकोमा अहिले १३ जना सक्रिय संक्रमित रहेका छन भने १२ संक्रमित निको भै घर फर्कि सकेका छन । “हामीले सदरमुकामकी बुर्तिबाङ पठाउने तयारी मै थियौं अध्यक्ष बुढाले भने,—“तर बर्षातका कारण सडक ठाँउ–ठाउँमा अवरोध भएको र पश्चिम क्षेत्रमा एम्बुलेन्स नभएका कारण उहाँहरुलाई बुर्तिबाङ पठाउन सकेनौं । हाल सम्म कसैलाई कोरोनाको लक्षण पनि देखिएको छैन । सुरुमा लक्षण देखिएका धौलागिरी अस्पतालमा पठाएका थियौं । उहाँहरु पनि निको हुनुभयो । अन्यलाई खासै समस्या नभएको भएर यही आईशोलेशन निर्माण गरेर राखेका छौं ।”
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार आईशोलेशन तयारी गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक तिलबहादुर छन्त्यालले बताए । छन्त्यालका अनुसार आइशोलेसन कक्षमा रहेका कोरोना संक्रमितहरु स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानीमा रहेको र उनिहरुलाई सहज व्यवस्थापन गरिएको छ । समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिएसँगै गत भदौ १४ गतेदेखि असोज २ गतेसम्म २० दिन गाउँपालिकाका केही वडा सिल गरिएको थियो । पछिल्लो परिक्षण गरिएको विभिन्न १४३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएकोमा १ जनामा मात्र कोरोना पोजेटिभ आएपछि गाउँपालिका भित्र कोरोना नियन्त्रणमा रहेको भनी भदौ २ गते बाट खुल्ला गरिएको छ ।
विदेशबाट गाउँपालिका भित्रनेहरुलाई पिसिआर गरेको ७२ घण्टा पछि आएकाहरुलाई होम क्वारेन्टाईनमा बस्ने गरि पठाईएको र पिसिआर परीक्षण नगरि आएकाहरुलाई भने १४ दिन पालिकाले निमार्ण गरेको क्वारेन्टाईन राखिने छन्त्यालले बताए ।
विद्यालयमा नै आईशोलशन निर्माण गर्नुपर्ने भए पछि गाउपालिका भित्रका विद्यालय संचालनका कुनै तयारी नरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । कोरोना संक्रमित कम भए सँगै विद्यालयमा शिक्षण सिकाईका क्रियाकलाप अगाडी बढाउने गाउँपालिकाले बताएको छ ।