काठमाडौं, असोज ११ गते । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएपछि उहाँ शनिबारबाट क्वारेन्टिनमा बस्नुभएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो । निर्देशनालयले भान्छामा कार्यरत सदस्यमा शनिबार कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लगत्तै प्रधानसेनापति थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम स्वास्थ्य सजगता अपनाउनुभएको हो ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले क्वारेन्टिनमा बसेको केही दिनपछि मात्रै उहाँको स्वाब परीक्षण गरिने जनाएको छ । स्वास्थ्य मन्त्रालयले समेत सङ्क्रमितको सम्पर्कमा आएको पाँच दिनपछि मात्रै स्वाब परीक्षण गराउन निर्देशिका जारी गरेको छ ।