द्वन्द्वरत समूहलाई वार्तामा आउन आह्वान

काठमाडौँ असोज १७ गते । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वरत समूहलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।

मानव अधिकार तथा सामाजिक अभियानको घोषणा सभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण तरिकाले वार्तामा आए सरकार वार्ता गर्न तयार रहेको बताउनुभयो । उहाँले हिंसाको बाटो त्यागेर शान्तिका प्रयासलाई वार्ताबाट अगाडि बढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार सबैसँग संवादका माध्यमबाट समस्या समाधान गर्न चाहेको छ, सरकार सबैसँग मिलेर सकारात्मक सोचका साथ अगाडि बढ्न चाहन्छ, त्यसमा नीति र नियतका साथ अगाडि बढ्नेसँग सरकार मिलेर अगाडि बढ्छ ।” संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने भएकाले कसैले यसलाई लहडको विषय नबनाउन उहाँले आग्रह गर्नुभयो । केही समय अगाडि मात्र संविधान संशोधन भएको बताउँदै उहाँले राष्ट्रिय आवश्यकताका आधारमा पुनः सशोधन गर्न सकिने बताउनुभयो ।

कतिपयले यो प्रणाली (गणतन्त्र) काम नलाग्ने भनी अभिव्यक्ति दिएको भन्दै उहाँले त्यस प्रकारको अभिव्यक्ति नदिन आग्रह गर्नुभयो । यस संविधान तथा प्रणालीअन्तर्गत सबै कुरामा सहभागी भइसकेर पनि त्यसका बारेमा अनावश्यक टिप्पणी गर्नु राम्रो नभएको धारणा उहाँले राख्नुभएको थियो । मानव अधिकारको रक्षा गर्ने दायित्व राज्यको भएको बताउँदै प्रधानमन्त्री अ‍ोलीले कुनै सङ्गठित समूहले जनतालाई डर त्रासदेखाएर नागरिकको अधिकार हनन गर्न नहुने बताउनुभयो । त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोनाका कारण नेपालमा महिलामाथि हुने विभिन्न किसिमका हिंसाका घटना बढ्दै गएको बताउनुभयो । उहाँले पछिल्लो समय महिलामाथि भइरहेको हिंसाको घटनाले आफूलाई चिन्तित बनाएको बताउँदै सरकारले यसलाई नियन्त्रणका लागि कानुन बनाएर कठोर भएर नियन्त्रण गर्न आग्रह गर्नुभयो । महिला हिंसालगायत अन्य दण्डहीनता र विभेदका घटनालाई अन्त्य गरेपछि मात्र मानव अधिकारको रक्षा हुने अध्यक्ष प्रचण्डले धारणा राख्नुभयो ।

आफ्नो पार्टी मानव अधिकारको रक्षाका लागि सदैव सजग र तत्पर रहेको चर्चा गर्दै उहाँले मानव अधिकारको क्षेत्र गैरकम्युनिस्ट भनी आरोप थियो तर त्यसको वकालत सबभन्दा बढी कम्युनिस्ट पार्टीले नै गरेको दाबी गर्नुभयो ।
मानव अधिकारसँग सम्बन्धित तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र निकट दुई सङ्गठनबीच एकता गरेर मानव अधिकार तथा सामाजिक अभियान नेपाल बनाइएको हो । कार्यक्रममा अभियान नेपालका नवगठित केन्द्रीय कमिटीका सदस्यहरूलाई नेकपाका महासचिव विष्णु पौडेलले शपथग्रहण गराउनुभएको थियो ।( गोरखापत्र बाट )

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →