सरकारले भन्यो–अस्पतालहरु भरिए अब हामी अप्ठ्यारो परिस्थितिमा पुग्दैछौ

काठमाडौं । सरकारले कोरोना संक्रमणको दर बढ्दै जाँदा अफ्ठ्यारो परिस्थिति आएको बताएको छ । डिस्चार्ज हुनेभन्दा भर्ना हुने क्रम बढ्दै जाँदा निकै कठिन अवस्था आएको बताएको सरकारको भनाइ छ ।

“हाम्रो लागि धेरै अफ्ठ्यारो समय आएको छ । संक्रमितको संख्या धेरै बढेको छ । अस्पताल र आइसोलेसन सेन्टरहरु भरिएका छन् । खचाखच बिरामी छन्,” नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेवर गौतमले भने, “उहाँहरुको डिस्चार्ज हुने दर घटेको छ र बिरामी हुने दर बढेको छ । यसले हामीलाई धेरै अफ्ठ्यारो परिस्थितिमा पुर्याउँदैछ भन्ने आंकलन गर्न सकिन्छ । यसकारण सबै सुरक्षित रहौं ।”

पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिएका छन् । हाल नेपालमा ३० हजार ८१८ सक्रिय संक्रमितको संख्या रहेको छ ।

कुल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

सरकारले भीडभाड गरेर चाडपर्व तथा जात्राहरु नमाउन आग्रह गरेको छ । घरकै परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको मन्त्रालयले टीका तथा प्रसाद पनि सकेसम्म ग्रहण नगर्न अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयले संसदीय समितिहरुका बैठक तथा गोष्टीहरु नगर्न अनुरोध गर्दै अन्य सरकारी कार्यालयहरुलाई पनि सोही आग्रह गरेको छ । सामाजिक दूरी कायम गरेर सेवाग्राहीलाई सेवा दिन पनि स्वास्थ्य मन्त्रालयले भनेको छ ।

त्यसैगरी सरकारले कोरोना संक्रमणको दर बढ्दै गएर अफ्ठ्यारो परिस्थिति आएको बताएको छ ।

सरकारले संघीय संसदका समितिहरु, अदालत र सरकारी कार्यालयमा कुनै पनि बैठक, गोष्ठी र तालिमहरु सञ्चालन नगर्न अनुरोध गरेको छ ।

सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै यस्ता कार्यहरु नगर्न अनुरोध गरेको हो ।

प्रवक्ता डा गौतमले देशभर कोरोना संक्रमण जित्नेको दैनिक संख्या घट्दै गइरहेको र संक्रमितको संख्यामा वृद्धि भइरहेको बताउँदै अप्ठ्यारो स्थिति आउनसक्ने भन्दै थप सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →