काठमाडौँ, कात्तिक १७ गते । अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रक्रिया चलिरहेको छ । यसपटक डेमोक्रेटिक पार्टीका तर्फबाट जो बाइडेन र रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रम्प चुनावी प्रतिस्पर्धामा छन् ।
अहिलेसम्म आएका सर्वेक्षणमा राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा विपक्षी उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन धेरै अगाडि देखिएका छन् । तर, निर्वाचनमा सबैभन्दा धेरै भोट पाउने उम्मेदवार नै अमेरिकाको राष्ट्रपति बन्ने ग्यारेन्टी भने हुँदैन ।
अमेरिकी राष्ट्रपतिको अघिल्लो निर्वाचनमा यस्तै भएको थियो । अघिल्लो निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले सबैभन्दा धेरै मत पाएकी थिइन् तर उनी पराजित भइन् र डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भए । यस्तो किन भयो ? यो बुझ्नको लागि अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रक्रियाबारे बुझ्नु जरुरी हुन्छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा २०१६ मा हिलारी क्लिन्टनले २९ लाखभन्दा धेरै मत पाएकी थिइन् । तर उनले यति धेरै मत पाउँदा पनि निर्वाचन हारिन् । यस्तो हुनुको कारण हो इलेक्टोरल कलेज ट्रम्पको पक्षमा थियो ।
खासमा अमेरिकामा हरेक राज्यको जनसंख्याको आधारमा एक निश्चित संख्यामा इलेक्टोरल कलेज भोट हुन्छन् । यस अन्तर्गत ५३८ भोट हुन्छन् । यो भोटमध्ये २७० वा सोभन्दा बढी भोट हासिल गर्ने व्यक्तिले अमेरिकी राष्ट्रपतिको निर्वाचन जित्छ । अघिल्लो निर्वाचनमा इलेक्टोरल कलेजको भोट ट्रम्पको पक्षमा रह्यो र उनी अमेरिकी राष्ट्रपति बने ।
अमेरिकाको संविधानमा १७८७ देखि चलिआएको इलेक्टोरल कलेज प्रक्रियामा ट्रम्पभन्दा पहिले जर्ज डब्लु बुशले पनि चुनाव जितेका छन् । सन् २००० मा जर्ज डब्लु बुश डेमोक्रेटिक उम्मेदवार अलगोरसँग पपुलर भोटमा पछि परेका थिए । तर इलेक्टोरल भोट उनले सबैभन्दा धेरै पाए अनि उनले चुनाव जिते । यसअघि १९ औं शताब्दीमा जोन क्विन्सी एडम्स, रदरफोर्ड बी हायस र बेन्जामिन हेरिसनले पनि इलेक्टोरल भोटको माध्यमले जितेका थिए । जानकारहरुका अनुसार यस पटक डोनाल्ड ट्रम्पले इलेक्टोरल भोट हासिल गर्न कठिन छ । बताइएअनुसार फ्लोरिडाको इलेक्टोरल भोट ट्रम्पको पक्षमा नगए उनी पराजित हुन सक्छन् ।