प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रुपमा उनलाई स्मरण गरिन्छ ।
जन्म जयन्तीका अवसरमा सोमबार काठमाडौंको शोभाभगवतीमा रहेको सिंहका सालिकमा माल्यार्पण गरिएको छ भने गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोनाबिरुद्धको जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । माल्यार्पण कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको परिवर्तन र राणाशासनको अन्त्यका लागि गणेशमान सिंहको भूमिकाको स्मरण गरे ।
फरक प्रसंगमा नेता सिंहले वर्तमान सरकार संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार अनुसार अघि बढ्न नसकेको आरोप लगाए । त्यस्तै उनले स्थिरताको नारा दिएपनि नेकपा नेतृत्वको सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक जनतालाई केही दिन नसकेको उल्लेख गरे ।
नेता सिंहले कांग्रेसका सभापति शेर बहादुर देउवाले बिधान विपरित बिभाग गठन लगाएतका काम एकलौटी ढंगले गरेकाले आफुहरुको विरोध रहेको बताए ।विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।